एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३० : धनुषामा आफ्नो कोठामा बोलाई पैसा लिएर जबर्जस्ती करणी गराउने महिला सहित युवक पक्राउ परेका छन् । जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका स्थित डेरा लिएर बस्दै आएकी मुस्कान खातुनले घरबेटीका १३ वर्षीया छोरीलाई विभिन्न प्रलोभन दिई शम्भु भन्ने ओम नारायण यादवबाट आफ्नै कोठामा बोलाई पटक पटक जबर्जस्ती करणी गराएपछि बालिका गर्भवती भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिएका छन । शुक्रवार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा दुबैजनालाई सार्वजनिक गरिएको छ । प्रहरीलाई दिएको बयान अनुसार खातुनले बालिकालाई आफ्नै कोठामा सुताउने गरेकोमा असार महिना देखि कार्तिक महिनासम्म यादवसँग पैसा लिएर जबर्जस्ती करणी गराएका थिए । सोही क्रममा बालिका गर्भवती भएको प्रहरी उपरिक्षक रानाभाटले बताए ।

बालिका गर्भवती भएपछि परिवारजनले प्रहरीमा उजुरी दिएका थिए । दुबैजनालाई बिहीबार लक्ष्मीनियाँ गाउँपालिका वडा नंं. ४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक रानाभाटले बताए । गर्भवती बालिकाको गर्भपतन गराउने अथवा नगराउने सम्बन्धमा परिवारजनले अहिले निर्णय नलिएको समेत उनले बताए ।
भिनाजुको हत्यामा सालोको संलग्नता
धनुषाको महेन्द्रनगरस्थित क्षीरेश्वर डिष्टिलरीका सञ्चालक प्रमोद रेग्मीको हत्यामा उनको आफ्नै सालो संलग्न रहेको रहस्योदघाटन भएको छ । शेयरको विवादमा आफ्नो भिनाजुको हत्या गरेको आरोपमा पक्राउ परेका सालोलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–७ दुर्गा टोल बस्ने ३५ वर्षीय निरज खाती रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा खातीलाई सार्वजनिक गरिएको छ ।
गत माघ १३ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ स्थित रहेको क्षिरेश्वर डिष्टिलरीका सञ्चालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ७ का ५४ वर्षीय प्रमोद रेग्मी आफु सुत्ने कोठामा मृत फेला परेका थिए । २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले अनुसन्धान गर्दा आफ्नो सहोदर सालोले हत्या गरेको खुलेको प्रहरी उपरीक्षक रानाभाटले बताए ।
खातीले शेयर लगानी सम्बन्धि विषयमा रिसीबी राखि आफ्नो भिनाजुलाई अत्यधिक मदिरा सेवन गराई बाँसको लाठीले टाउकोमा प्रहार गरी हत्या गरेको रानाभाटले बताए । रेग्मीको शव कम्पनिमै रहेको उनको कोठाभित्र टाउकोमा गम्भीर चोट लागेको र शरीरबाट अत्यधिक रगत बगिरहेको अवस्थामा माघ १४ गते बुधबार बिहान करिव ९ बजे फेला परेको थियो । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर–७ टुहाडे टोल स्थायी ठेगाना भएका रेग्मी धनुषामा चारजनासँग मिलेर डिष्टिलरी सञ्चालन गर्दै आएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !