एसपी रिपोर्टर
जनकपुरधाम, माघ २५ : संसद विघटन विरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आज देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । जसपा पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार आज देशकै मुख्य शहरहरुमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो ।

संसद विघटन र संवैधानिक निकायमा अवैधानिक नियुक्ति लगायतका विरोधमा निरन्तर विरोधका कार्यक्रमहरु गर्दै आएको जसपाले आज प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको जसपाका नेताहरुले बताएका छन् ।

नगरको विभिन्न भागमा विरोध गर्दै जनकपुरधामको जनकचोकमा भएको पुत्ला दहन कार्यक्रममा प्रदेशसभा सदस्यहरू परमेश्वर साह, रामअशिष यादव, केन्द्रिय सदस्य संजय चौधरी, राजु चौधरी, सुदर्शन सिंह, प्रशान्त झा, रोशन मिश्र, किसन साह, पप्पु चौधरी लगायतका नेता कार्यकर्ताहरु सहभागी थिए । पुत्ला दहन गर्ने क्रममा प्रहरीले अवरोध गर्न चाहेका थिए ।

जिल्ला स्तरमा माघ २३ गते जनप्रदर्शन, माघ २५ गते पुत्ला दहन र माघ २८ गते मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रमको छ । जसपाले संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका तथा वडा स्तरमा परिस्थिति अनुसार विरोधका कार्यक्रमहरु निर्धारण गरी आन्दोलन निरन्तर अगाडि बढाउदै आएको छ ।
