एसपी रिपोर्टर
जनकपुरधाम, माघ २४ : प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले संघिय सरकार रेमिटान्स खाने मात्र काम गरेको तर आप्रवासीहरुको हकहितमा कहिल्यै पनि नसोचेको आरोप लगाएका छन् । समता फाउन्डेशनको आयोजनामा जनकपुरधाममा भएको प्रदेशमा बैदेशिक रोजगारका चुनौती र सरोकारवाला पक्षको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘जुन रेमिटान्सले देश र सरकार चल्छ ती रेमिटान्स भित्रयाउने आप्रवासीहरुको हालत के छ आज पनि ?’

प्रदेश सरकार बन्ने वितिकै सवै थोक प्रदेश सरकारले नै गुर्नपर्छ भन्नु मुर्खता रहेको बताउदै उनले वैदेशिक रोजगारमा कामदारका रुपमा सवै भन्दा बढी २८.५ प्रतिशत जनता देश वाहिर गएको र उनीहरुको बारेमा संघिय सरकार कहिल्यै पनि कुनै योजना नबनाएको आरोप लगाएका छन् । खाली रेमिटयान्समा मौज मस्ती गर्ने काम भयो, उनले भने, ‘रेमिटयान्सको स्रोत ति सोझा साझालाई देशमा अवसर र सदुपयोगको बारेमा कुनै चिन्ता गरिएन ।’
कार्यक्रममा प्रदेशसभा सदस्य विकि यादव सहितकाले आ–आफ्नो धारणा राखेका थिए । साथै विदेशजाने क्रममा वा बिदेशमा विभिन्न समस्या झेलेका पिडितहरु समेत आ–आफनो पिडा पोखेका थिए । सो क्रममा विज्ञहरुले बैदेशिक रोजगार सम्बन्धमा आ–आफनो कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।