एसपी रिपोर्टर
जनकपुरधाम, माघ २४ : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बामपन्थीहरु गलत नेतृत्व चुनेकाले देश पुनः संकटमा परेको बताएका छन् । ‘संविधान कांग्रेसको नेतृत्वमा बनेपनि कार्यान्वयनको जिम्मा जनताले बामपन्थीलाई दिएर गल्ती गरेको आज प्रमाणित भएको छ’ शनिवार संसद विघटन बिरुद्ध नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुद्वारा सामुहिक रुपमा जनकपुरधाममा आयोजित विरोध प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै उपसभापति निधिले भने ‘बामपन्थी नेताहरुले पनि उसलाई नेतृत्व दियो जस्ले संघियता र गणतन्त्र रुचाएकै थिएन ।’
जनताले नेकपालाई बहुमत दिएको तर नेकपाका नेताहरु उपलब्धी विरोधी व्यक्तिलाई सरकारको जिम्मा दिएकाले आज यस्तो भएको उनको तर्क छ । देशमा राजा अव कुनै पनि हालतमा आउन नसक्ने निधीले ठोकुवा गरेका छन् । पुर्व गृह तथा उपप्रधानमन्त्री समेत रहेका निधीले भने, ‘ओली त के ओलीको तिन पुस्ता आएपनि राजा ल्याउन सक्दैन ।’
संविधान हामीले बनायौं तर जनताले मत अर्कालाई दिए निधीले भने, ‘संघियता मधेशीका लागि आयो तर मधेशी जनता संघियता विरोधीलाई सत्तामा पुरयाए ।’ नेपाली कांग्रेसलाई धनुषाको चारवटै क्षेत्रमा पराजीत गराएर जनताले भुल गरेको भन्दै उनले त्यसै भुलको परिणाम आज यस्तो स्थिती आएको उनको तर्क छ ।
माघ १३ गते बसेको काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकले संघर्षका थप कार्यक्रमहरु घोषणा गरे अनुरुप आज पार्टीका १८ वटा शुभेच्छुक संस्थाहरुले सामुहिक विरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेस धनुषाको पार्टी कार्यालयबाट निस्केको जुलुस क्याम्पसचोक, मुरलीचोक, रामचोक हुँदै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागीहरुले संघीय शिक्षा ऐन खारेज गर, विधिको शासन कायम गर, मानवअधिकारको रक्षा गर, सबै श्रमीकहरुको स्थानीयतहमा पञ्जीकरण गर, सबैलाई सामाजिक सुरक्षा लागु गरलगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । यसअघि माघ १९ गते नेपाली काँग्रेसका भातृ संगठन नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल मुस्लिम संघलगायतका संगठनहरुले वृहत विरोध प्रदर्शन गरेको थियो भने पुस १३ गते १६५ निर्वाचन क्षेत्र, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७५३ वटै पालिका र माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ । फागुन ३ गते नेपाली काँग्रेसका जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने बताइएको छ ।