एसपी रिपोर्टर
काठमाण्डौं, माघ २३ : नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली समुहले काठमाण्डौंको नारायणहिटी संग्रहालय अगाडि आयोजना गरेको जनसभामा महासचिव भनिएका विष्णु पौडेललाई बोल्न दिएन । अर्थ मन्त्री समेत रहेका पौडेल मञ्चको अगाडि पंक्तिमै बसेको भएपनि उनलाई बोल्न भने मौका दिइएन ।
उक्त जनसभामा देशभरिबाट लाखौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको ओली पक्षधर नेताहरुको दाबी छ । सभामा प्रधानमन्त्री तथा उक्त पक्षका अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ताको रुपमा थिए भने उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र प्रदेश नम्बर २ का नेता सत्यनारायण मण्डल, र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गरेका थिए । तर सभामा महासचिव विष्णु पौडेलले भने सम्बोधन गर्न पाएनन ।
उनलाई बाईपास गरिएको हो वा नेता पौडेल आँफैले बोल्न नमानेको हुन ? त्यो त रहस्यको विषय छ । तर, यसअघिका प्रायः सबैखाले ठूला ठूला कार्यक्रमहरुमा पौडेलले सम्बोधन गर्ने गरेका थिए । आज उनलाई किन बोल्न दिईएन ? भनेर नेकपा ओली वृत्तमा चर्चा चलेको छ । उनी स्टेजमा पहिलो लहरमै उपस्थिति थिए । पार्टी नेताहरुको हैसियतको कुरा गर्दापनि उनी ओली पक्षका शक्तिशाली नेता हुन् । त्यो पनि महासचिव । ओलीलाई हरेक संकटमा साथ दिँदै आएका नेता पौडेल कार्यकर्तास्तरमा पनि लोकप्रिय मानिन्छन् ।