एसपी रिपोर्टर
जनकपुरधाम, माघ २२ : कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आफु धार्मिक कार्यक्रम सक्दो नछुटाउने गरेको बताउदै हिन्दु भएकोमा गर्व महशुस गरेको बताएका छन् । जनकपुरधामको रामानन्दचौकमा जगद्गुरु श्री रामानन्दाचार्यको जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमलाई आज सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका निधीले सम्बोधनको सुरु मै ‘जय सिताराम’ को नारा लगाएका छन् ।

निधीले भने, ‘भगवान श्री रामचन्द्रको विवाह माता जानकी संग नभएको भए, हामी, यो मिथिला र जनकपुरधाम अहिले कहाँ हुन्थ्यो कल्पना गर्न सकिन्न ।’ माता सीता शक्ति स्वरुपा नभइ दिएको भए भगवान श्री राम समेत ओझेलको पात्रको रुपमा हुनुहुन्थ्यो भन्दै उनले भने, ‘ उहाँ समाजवादी व्यक्तित्व हुनुभएकाले जनकपुरधाममा रामानन्दाचार्य भगवानको जयन्ती अझ भव्य मनाउनु पर्छ ।’

राजनितिक भाषण नगरेका निधीले जनकपुरधामको गरिमा उच्च रहेको बताए । श्री रामानन्दीय श्री वैष्णव संघका अध्यक्ष राम रोशन दास बैष्णवको अध्यक्षतामा भएको कार्यक्रममा निधी सहित नेपाली कांग्रेसका नेताहरु, साधुसन्तहरु सहितको उपस्थिती थियो । जगद्गुरु श्री रामानन्दाचार्यको सप्ताहव्यापी जयन्ती महोत्सव जनकपुरधाममा भव्य कार्यक्रमका बिच मनाउदै छ । श्री रामानन्दीय श्री वैष्णव संघ परिवारको आयोजनामा जनकपुरधाम स्थित रामानन्दचोकमा पण्डाल निर्माण गरि दैनिक भक्तमाल कथा, मंगल गान र शोभा यात्रा सहितका विभिन्न कार्यक्रम गरि जयन्ती महोत्सव मनाईदै छ ।

माघ १६ गतेदेखि दैनिक वृदावनकी साध्वी चन्चलाको मुखारबिन्दुबाट श्री रामजानकी कथा सहितको धार्मिक प्रवचन तथा भजनको कार्यक्रम आयोजना गरिएको छ प्रभने त्येक दिन दिउंसो २ बजेदेखि साँझ ५ बजेसम्म भक्तमाल कथा वाचनका साथै बेलुका ५ बजेदेखि ६ बजेसम्म बधाई मंगलगान आयोजन गरिएको छ ।

आज जगद्गुरु श्री रामानन्दाचार्यको जन्मोत्सवका दिन रहेकाले बिहान ८ बजेदेखि पूजन, १० बजेदेखि १२ बजेसम्म भक्तमाल कथा, १२ देखि २ बजेसम्म रामानन्दाचार्यको महत्व र उनले दिएको उपदेश बारे जयन्ती सभा र दिउँसो २ बजेदेखि ४ बजेसम्म नगरपरिक्रमा सहितको शोभा यात्रा निकालेर भब्यता पुर्वक जयन्ती महोत्सव मनाईदै छ । जयन्ती महोत्सव आजै सु–सम्पन्न हुने छ ।