एसपी रिपोर्टर
जनकपुरधाम, माघ २० : प्रदेश २ को नीति तथा योजना आयोगले प्रदेश सरकारको पहिलो आवधिक योजना पुस्तक तथा उद्योग, पर्यटन, कृषि तथा सिचाँई क्षेत्रमा वृहत क्षेत्रीय योजना सहित तयार पारिएको ‘नेपाल प्रोभिन्सियल प्लानिङ्ग बेसलाईन एण्ड स्ट्रेटेजिक अप्सन फर प्रोभिन्स २’ नामक योजना पुस्तक समेत सार्वजानिक गरिएको छ ।
एक कार्यक्रमका बिच आयोेगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले दुवै योजना पुस्तक सार्वजानिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित सार्वजानिकिकरण कार्यक्रममा आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले यस अघि प्रदेश सरकारलाई आयोगले आर्थिक वर्ष २०७६÷०७७ देखि २०८०÷०८१ सम्मको पञ्च वर्षिय आधार पत्र प्रदान गरेकोमा आज सम्पुर्ण रुपमा पहिलो आवधिक योजना तयार गरि सार्वजानकि गरिएको बताए ।
पुस्तक सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको अबको लक्ष्य प्रदेश गौरवका आयोजनाहरुको छनौट गरी प्रदेशको विकास तर्फ ध्यान पुर्याउनु रहेको बताए । उनले पहिलो आवधिक योजनाले प्रदेशमा अगामी पाँच वर्ष भित्र गर्नु पर्ने विकासको लक्ष्य निर्धारण गर्नुका साथै अगामी दिनमा प्रदेश सरकारले गर्ने कामहरुको विस्तृत विवरण समेटिएकोले अगामी दिनको नीति तथा कार्यक्रम एवं बजेट निर्माण गर्दा सहज हुने बताए ।
नीति आयोगमा पदाधिकारीहरु नियुक्त हुन नसकेको अवस्थामा पनि आयोगले गरेको कामको मुख्यमन्त्री राउतले प्रशंसा समेत गरेका छन् । कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. झाले आयोगले साधन स्रोतको कमीमा समेत राम्रो काम गरेको बताए । उनले आयोग पूर्णता पाउन नसके पनि अन्य प्रदेशहरुको तुलनामा राम्रा राम्रा कामहरु गरेको दावी गरेका छन् । कार्यक्रममा प्रदेश २ का मुख्य सचिव गोकर्णमणि दुबाडी, कानून सचिव टिकाराम पाण्डे, आयोगका सदस्य सचिव दानी कान्त झा सहितको उपस्थिति रहेको थियो ।