एसपी रिपोर्टर
जनकपुरधाम, माघ १८ : सर्वसाधारणको मोटरसाइकल चोरी हुँदा निरिह बन्ने प्रहरी प्रहरीको मोटरसाइकल चोरिएपछि मोटरसाइकल चोरको गिरोहलाई नै पक्राउ गर्न सफल भएको छ । शनिवार मध्यान्ह करीब १२ बजे एक सशस्त्र प्रहरीको मोटरसाइकल चोरिएपछि २४ घण्टा नबित्दै मोटरसाइकल चोरको गिरोहलाई पक्राउ गरि प्रहरीले सार्वजानिक गर्न सफल भएको हो ।
पक्राउ पर्नेहरुमा सिरहा विष्णुपुर गाउँपालिका ३ रजखोर निवासी २१ वर्षिय रोहितकुमार यादव, विष्णुपुर गाउँपालिका २ राजपुरका २१ वर्षिय प्रमोदकुमार यादव, मनोज यादव, जितेन्द्र यादव र धनुषाको सबैला नगरपालिका ४ पटेर्वाका २० वर्षिय अमरेन्द्र यादव रहेका छन । पक्राउ परेकाहरुको साथबाट प्रहरीले ६ वटा मोटरसाइकल, चोरीमा प्रयोग भएका सामाग्री सहित जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरी आईतवार सार्वजनिक गरेको हो ।
रोहित यादवको साथबाट प्रहरीले ज ८ प ८७७५ नम्बरको अपाचे, ज १२ प ६११८ नम्बरको पल्सर, स ७ प ५२०३ नम्बरको डिस्कभर र को ३८ प ७६४ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकका साथै चोरीमा प्रयोग हुने सामाग्री बरामद गरिएको कुरा प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।
त्यस्तै धनुषाको अमरेन्द्र यादव र सिरहाको प्रमोद यादवको साथबाट स ४ प ५७४६ नम्बरको पल्सर मोटरसाइकल बरामद गरिएको छ भने सिरहाको मनोज यादव र जितेन्द्र यादवको साथबाट ना ३९ प ६३८२ नम्बरको पल्सर मोटरसाइकल बरामद गरिएको धनुषा प्रहरीले जानकारी दिए ।
बरामद मोटरसाइकल सवारी धनीलाई आवश्यक प्रक्रिया पुरयाई जिम्मा लगाइनेछ भने पक्राउ परेकाहरुलाई हिरासतमा राखि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता मिश्रले जानकारी दिए ।
यसरी समातियो गिरोह
शनिवार मध्यान्ह् १२ मा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ५ सखुवा बजारमा पार्किङ्ग गरी राखिएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिजमा कार्यरत प्रहरी जवान मिथिलेश कुमार राउत र जनकपुरधाम निवासी अजय साहको मोटरसाइकल चोरी भयो ।
प्रहरीले सूचना पाए लगतै जिल्लाभरि खोजतलाश कार्य शुरु गरियो । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट असई राजेश कुमार जैसवालको नेतृत्वमा खटिएको टोलीले सवारी चेकजाँचको क्रममा क्षिरेश्वरनाथ नगरपालिका ९ स्थित जलाध खोला नजिकबाट रोहित यादवलाई सशस्त्र प्रहरीको चोरी भएको मोटरसाइकल सहित पक्राउ गर्न सफल भयो ।
रोहितलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा उनले क्षिरेश्वरनाथ ५ कुचाई टोलमा भाडा लिएको डेराबाट थप ३ थान मोटरसाइकल र चोरीमा प्रयोग हुने सामाग्री बरामद भयो । अनुसन्धानकै क्रममा मोटरसाइकल चोरी गिरोहमा सिरहाको प्रमोद यादव र धनुषाको अमरेन्द्र यादव समेत संलग्न रहेको खुल्यो । तिनीहरुलाई प्रहरीले क्षिरेश्वर नपा ९ ईच्छापुरबाट मोटरसाइकल सहित फन्दामा पार्न सफल भयो । यी दुई जना विरुद्ध अनुसन्धान थालिएपछि महेन्द्रनगरबाट चोरी गरिएको थप एकथान मोटरसाइकल सहित सिरहाका मनोज यादव र मोटरसाइकल किन्ने जितेन्द्र यादवलाई पनि पक्राउ गर्न सफल भएको हो ।