पुरन रौनियार
जनकपुरधाम, माघ १८ : प्रदेश सरकारको महत्वकांक्षी परियोजनाको रुपमा स्थापना गरिएको ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान’ मा प्रदेश २ सरकारले प्रदेश २ का तिनजना दक्ष बिज्ञहरुलाई नियुक्त गरेको छ । हाडजोर्नी तथा नशा रोज्ञ विशेषज्ञ वरिष्ठ सर्जन डा. रामकेवल साहलाई प्रतिष्ठानको उपकुलपती, महाराजगञ्ज शिक्षण अस्पतालमा सेवारत डा. विनोद यादवलाई रजिष्टार र नेपाल मेडिकल काउन्सिलमा सदस्य भइसकेका युवा डा. अंकुर साहलाई प्रतिष्ठानको शिक्षाध्यक्षको नियुक्ती प्रदान गर्दै प्रदेश सरकारले मधेश सरकारको भावनाका साथ काम गर्न सुझाव सहित शुभकामना दिएको छ । को हुन त यि तिनैजना पदाधिकारी ?
उपकुलपती : डा. रामकेवल साह

डा. साह विगत करिव ४० वर्ष देखि चिकित्सा पेशामा सेवारत छन् । ई.सं.१९५५ मार्च १५ मा माता मनतोरिया देवी साह र पिता लक्ष्मेश्वर साहको सुपुत्रका रुपमा धनुषाको सवैला गाविस वडा नं. ६ मा जन्मेका डा. साहको प्रवेशिका परिक्षा सम्मको पढाई जनकपुरधामको सरस्वती मा.वि बाट भयो । सन १७७१ मा एलएलसी परिक्षा उर्तिण गरेका साह १९७३ सम्म अमृत साइन्स क्याम्पस काठमाण्डौंबाट आइएससी अध्यन्न गरे ।
मोरा युनिर्भसिटीवाट १९७२ देखि १९७७ सम्म एमबिबिएस र १९७८ देखि १९८२ सम्म अर्थोपेडिक्समा एमएस गरेका डा. साह १९९० देखि १९९२ सम्म लिभरपुलवाट एमसिएच र २०१९ मा बेलायतवाट एफआरसिएस सम्मको अध्यन्न अनुभव प्राप्त गरेका छन् । सन १९८२ देखि चिकित्सा सेवाको थालनी गरेका डा. साह अहिले सम्म जनकपुरधाम अञ्चल अस्पताल, विर अस्पताल, माहाकाली अञ्चल अस्पताल हुदै नेपाल मेडिकल कलेज सम्ममा उपचार र अध्यापनको काम गर्दै निरन्तर सेवारत छन् ।
अनेकन देश विदेशमा सम्बन्धित विषयको सभा सेमिनार तथा प्रशिक्षणको समेत अनुभव संगालेका डा. साह पछिल्लो समय प्रदेश सरकारको स्वास्थ्य कार्यदलका संयोजक तथा कोभिड–१९ व्यवस्थापन संयन्त्रको सल्लाहकारको रुपमा सक्रिय रहदै आएका थिए । उनकै संयोकत्वको कार्यदलले प्रदेश २ सरकारलाई आठवटै जिल्लामा स्थलगत अध्यन्न र विज्ञसंगको सुझाव संकलन पछि विभिन्न सुझाव अन्र्तगत प्रतिष्ठानको समेत स्थापना गर्न सुझाव सहितको प्रतिवेदन प्रदान गरेको थियो ।
रजिष्टार : डा. विनोद यादव

डा. यादव प्रदेश २ को महोतरी मुल निवासी हुन । १९७६ अगस्त ०३ मा माता कुमझिया देवी र पिता कैलाश यादवको सुपुत्रको रुपमा महोतरी हालको औरही नगरपालिका वडा नं. २ मा जन्मेका डा. यादव तिक्षण ज्ञानका दक्ष चिकित्सक हुन । स्थानिय औरही मा.वि मै एसएलसी सम्म पढेका डा. यादव जनकपुरधामको त्यसवेलाका चर्चित क्याम्पस रा.रा.बवाट आइएससीको शिक्षा हासिल गरे ।
त्यसपछि एमएससी अध्यन्न गर्न भारतको चर्चित एवं प्रतिष्ठित अल इन्डिया मेडिकल साइन्सेज (एम्स)मा भर्ना भएका डा. यादव साउथ कोरियावाट पिएचडीको अध्यन्न हासिल गरेका हुन । गत १६ वर्ष देखि निरन्तर चिकित्सा सेवामा सेवारत डा. यादव काठमाण्डौंको आइओएम महाराजगंज शिक्षण अस्पतालको बायोकेमेस्ट्री विभागका प्रमुख हुदै अहिले परिक्षा डिपार्टमेन्टका प्रमुख भएर कार्यरत छन् ।
चिकित्सा सेवा तथा अध्यापनमा समेत सक्रिय डा. यादवलाई प्रतिष्ठानको रजिष्टारका लागि आग्रह गरिएपछि अव आफनै मधेशको सेवाका लागि इच्छा जागेर नियुक्ती स्वीकार गरेको बताउछन् ।
रेक्टर (शिक्षाध्यक्ष) : डा. अंकुर साह

डा. साह युवा चिकित्सक हुन । उनी जनकपुरधाममा एक चर्चित रेडियोलोजष्टिका रुपमा चिनिन्छन् । परिवकारका अधिकांश सदस्य उनको चिकित्सा पेशामै रहेका छन् । माता रञ्जना देवी साह र जनकपुरधाम तथा यस क्षेत्रकै चर्चित बालरोग विषेशज्ञ वरिष्ठ चिकित्सक डा. हुकुमदेव साहको सन्तानको रुपमा सन १९७९ मा धनुषाको जनकपुरधाममा जन्मेका डा. साहको एसएलसी सम्मको पढाई लेखाई भारत विहारको राजधानी पटनाको डनबस्को एकेडेमीमा भयो ।
भारतको देल्ही स्थित मोर्डन स्कुलवाट आईएससी सम्मको शिक्षा आर्जन गरेका डा. साह सुनसरीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट एमबिबिएस अध्यन्न गरेका हुन । भारतको म्याङ्गलोरवाट रेडियोलोजिष्ट संकायमा एमडी लेभलको अध्यन्न गरेका डा. अंकुर त्यसपछि जनकपुरधाम आएर सेवामा लागे । जनकपुरधामको प्रादेशिक अस्पतालमा पार्ट टाइम सेवा थालेका डा. साह जानकी मेडिकल कलेजमा सह–प्रध्यापकको रुपमा समेत काम गरे ।
थोरै समयमा जनकपुरधाममा रेडियोलोजोष्टिको रुपमा चर्चा कमाएका डा. साह काठमाण्डौंको किष्ट कलेजमा पनि सेवारत रहेकै वेला यो नियुक्ती पाएका हुन । उनकी श्रीमती डा. मोनी महतो र दाजु डा. अमित साह समेत चिकित्सक हुन । चिकित्सकीय माहोलमा हुर्के बढेका डा.साह चिकित्सा क्षेत्रको सर्वोच्च निकाय नेपाल मेडिकल काउन्सिलको सदस्यमा दुई दुई पटक निर्वाचित भएर काम गरिसकेका छन् ।
युवास्थामै विभिन्न मेडिकल कलेजलाई नजिकवाट नियाल्ने मौका पाएका डा. साह मधेशमा एउटा प्रतिष्ठीत तथा अत्याधिक सेवा प्रदान गर्ने प्रतिष्ठान स्थापनाको अभियानमा लागेर मधेशको सेवा गर्न चाहेको बताउछन् । उनले आफना बुवाको योगदान र अनुभव सहित संस्थागत रुपमा यसक्षेत्रलाई सेवा गर्नकै लागि यो बाटो रोेजेको बताउछन् ।

नियुक्त गरिएको तिनैजना पदाधिकारीलाई प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले विभागिय समाजिक विकास मन्त्री नवल किशोर साह, भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, मुख्यन्याधिवक्ता दिपेन्द्र झा सहितको उपस्थितीमा नियुक्ती पत्र प्रदान गर्दै प्रदेश सरकारको मधेश प्रतिको भावना र स्वास्थ्य सेवाको लक्ष्य अनुसार काम गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
