एसपी रिपोर्टर
महोतरी, माघ १६ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले प्रजातन्त्र र लोकतन्त्र एकपटक पुनः धरापमा रहेकाले स्व. रामनारायण मिश्रले देखाएको पथमा अगाडि बढनुपर्नेमा जोड दिएका छन् । प्रजातन्त्रका मसिहा भनेर यस क्षेत्रमा प्रख्यात लोकतन्त्रवादी नेता स्व. राम नारायण मिश्रको शालिक अनावरण समारोहलाई महोतरीको जलेश्वरमा सम्बोधन गर्दै पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका निधिले लोकतन्त्र बचाउन एक हुनुपर्नेमा जोड दिएका छन् ।
निधिले भने, ‘प्रजातन्त्र, लोकतन्त्रका सारथीहरुको योगदान र बलिदानीका कारण उपलब्ध भएको संघिय लोकतान्त्रिक गणतन्त्रमाथी खतरा रहेकाले स्व. मिश्र जस्ता व्यक्तित्वहरुले देखाएको पथमा पुनः एक भएर हिडनु पर्ने समय आएको छ ।’ निधिले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकलाई दुर्घटना तर्फ धकेलेको आरोप लगाएका छन् ।

उनले संसद विघटन प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, सर्वसत्तावादी र वर्चश्ववादी कदम रहेको जिकिर समेत गरे । नेता निधिले संसद विघट गरेर प्रधानमन्त्रीले जनता र मतदाताको अपमान गरेको दावी गरे । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि प्रतिनिधिसभा आवश्यक रहेको उनको तर्क छ । उनले भने, ‘देश, जनता, प्रणाली र संविधानका लागि प्रतिनिधिसभा प्राप्त गर्नु आवश्यक छ, त्यसका लागि दुईवटा संवैधानिक बाटो छ त्यो हुन सर्वोच्चद्धारा संसद पुनस्र्थापना र निर्वाचनद्धारा प्रतिनिधिसभाको गठन बाहेक अन्य कुनै विकल्प छैन् ।’

यी दुबै विकल्प संवैधानिक छन्, अहिलेको वर्तमान परिस्थितीमा दुबै विकल्पका लागि जनता र राजनीतिक दलहरु तयार हुनुपर्ने उनको तर्क थियो । निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयन नै नेपाली काँग्रेसको मुख्य एजेण्डा रहेको बताए । उपसभापति निधिले नेपाली काँग्रेसले यसअघि १४औँ महाधिवेशनका लागि गरेको तयारी अहिलेलाई थाँती राखेर निर्वाचनमा लाग्नु आफ्नो पहिलो प्राथमिकतामा राखेको बताए । उनले भने, ‘संसद पुनस्र्थापना भए पार्टीको १४ औं महाधिवेशन पहिले हुन्छ । तर निर्वाचन पहिले भए महाधिवेशन पछि हुनेछ ।’

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउदले नेपालमा सबभन्दा बलियो मधेशी पार्टी नेपाली काँग्रेस नै रहेको दावी गरे । यो प्रधानमन्त्रीको अप्रजातान्त्रिक कदम रहेको बताउँदै उनले निर्धारित समयमा निर्वाचन गराउन नसके प्रधानमन्त्री ओली एक मिनेट पनि सत्तामा रहन नसक्ने दावी गरे । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगाना, स्मृतिनारायण चौधरी, प्रदेश २ को संसदीय दलका नेता रामसरोज यादव, स्वर्गीय रामनारायण मिश्रका पुत्र हरिशंकर मिश्रलगायतकाहरुले आ–आफ्नो धारणा राखेका थिए ।

२०१५ सालमा देशकै पहिलो जननिर्वाचित सरकारको मन्त्री परिषदमा उद्योग मन्त्री समेत भएका स्व. मिश्रको महोतरीको जलेश्वरको खैराचौकमा शहिद दिवसको अवसर पारि आज शालिकको अनावरण नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले गरेका छन् ।