एसपी रिपोर्टर
जनकपुरधाम, माघ ११ : जनकपुरधाममा समाजिक सेवा, पुरस्कार तथा परोपकारको काम र गतिविधीमा सक्रिय सरस्वती राजनारायण प्रतिष्ठानले रजत जयन्ती मनाउदै प्रतिष्ठान सञ्चालनको जिम्मा नयाँ पुस्तामा हस्तान्तरण गरेको छ । अवकाश प्राप्त वरिष्ठ इन्जिनियर ई.चन्देश्वर प्रसाद रौनियार (सिपी रौनियार)ले आफना मातापिता को नाममा समाजिक सेवाका लागि स्थापना गरेको २६ वर्ष पुरानो प्रतिष्ठानको रजत जयन्तीको अवसरमा प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष रौनियारले आफनो छोरा राजिव रौनियारलाई प्रतिष्ठान सञ्चालनको जिम्मा लगाएका छन् ।

सो अवसरमा आयोजित समारोहमा समाजसेवी समेत रहेका रौनियारले भने, ‘प्रतिष्ठान स्थानिय, प्रदेश र राष्ट्रिय गरि तिनै तहको पुरस्कार विभिन्न विद्यामा प्रदान गर्ने छ ।’ ८२ वर्षिय रौनियारका सुपुत्र तथा प्रतिष्ठानका नव अध्यक्ष राजिवले भने, ‘बुवाले मातापिता प्रति देखाएको सम्मान र समाजसेवाको भावना प्रवाहको क्रमलाई निरन्तरता दिने छु ।’

प्रतिष्ठानले श्री रामानन्द युवा युवा क्लव, सेवा निवृत कर्मचारी संघ सहितको समन्वयमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई पुरस्कार प्रदान गर्नुका साथै विभिन्न समाजिक कार्य तथा समाजिक संघ संस्थालाई सहयोग गर्दै आएको छ ।

वरिष्ठ इन्जिनियर रौनियारको पैतृक गाँउ सर्लाहीको ब्रह्मपुरीमै आयोजित रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै निति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रदेश सांसद गौरीसंकर साह, रामअशिष यादव, शिवचन्द्र चौधरी, सावित्री साह, ब्रह्मपुरी गाँउपालिका अध्यक्ष बिनोद महतो, रौनियार सेवा समितिका केन्द्रिय अध्यक्ष शिवनाथ साह रौनियार, सेवा समिति जनकपुरधामका अध्यक्ष अरुण कुमार साह, पुर्व अध्यक्ष लालबाबु गुप्ता, वरिष्ठ उपाध्यक्ष रामप्रताप गुप्ता सहित ब्रह्मपुरीका बुद्धिजिवीहरुले रौनियारको लगनशिलता, जिवन, सक्रियता, प्रतिष्ठानको स्थापना त्यसको उद्देश्य र काम सहितको चर्चा परिचर्चा र सराहना गरेका थिए ।

सो अवसरमा प्रतिष्ठानका तथा संस्थापनक रौनियारले रजत जयन्तीको अवसरमा आफनो बंशावली, प्रतिष्ठानको स्थापना उद्देश्य र काम समेटेर प्रकाशन गरेको स्मारिका २०७७ लोकापर्ण गरिएको छ । वरिष्ठ साहित्यकार अयोध्यानाथ चौधरीको सम्पादनमा स्मारिका प्रकाशन गरिएको छ ।
