एसपी रिपोर्टर
जनकपुरधाम, माघ ८ : नेपाल–भारत खुल्ला सिमा संवाद समुह तथा क्लोथ बैंकका अध्यक्ष राजिव झाले भारत सरकारले नेपाललाई गरेको कोभिड १९ विरुद्वको भ्याक्सिन सहयोगले मित्रता प्रगाढ हुने बताएका छन् । भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो भने त्यस परिमाणको खोप नेपाल आईसकेको समेत छ ।
नेपाल–भारत खुल्ला सिमा संवाद समुहका अध्यक्ष झाले भने, ‘कोरोनाको भयले त्राहिमाम रहेको अवस्थामा भारतले सर्वप्रथम भ्याक्सिन सहयोग गर्नु घनिष्ठ मित्रको व्यवहार हो ।’ अव नेपाल भारत सरकारले बन्द रहेको सिमा समेत छिट्टै खोलेर दुवै तर्फको जनतालाई राहत दिनुपर्ने बताए ।

अक्सफोर्डरएस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई सहयोग गरेको छ । बिहीबार बिहान एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको छ । झाले भने, ‘भारतको सहयोगले नेपाली जनता पुनः एक असल मित्रको महशुस गरेको छ ।’
स्वास्थ्य मन्त्रालयका खोप शाखा प्रमुख डा. झलक शर्माका अनुसार १० देखि १५ दिनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने छ ।