एसपी रिपोर्टर
जनकपुरधाम, माघ ८ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफु पत्रकारहरुको अहितमा कुनै पनि काम गर्न नचाहदा नचाहदै पनि भुलवस वा कमचारीको नियतवस मात्र केहि त्रुटी हुने गरेको बताएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रिय समितिद्वारा आयोजित प्रादेशिक मिडिया निति तथा कानुन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आफु नचाहदा नचाहदै पनि विभिन्न कारणले पत्रकार विरोधी कार्य भएको स्वीकार गर्दै आफुलाई जवाफ दिन परेको बताए ।

सुरुमा सञ्चार सम्बन्धि विद्ययेकमा पत्रकारलाई करोड रुपैया जरिवाना गरिने बुँदा एकजना सहसचिव कर्मचारीले सनकको भरमा राखिएको बताउदै मुख्यमन्त्री राउतले भने, ‘विद्ययेकमा कपि पेष्ट पनि गरिन्छ र नियोजित काम पनि अनि जवाफ मलाई दिनुपर्छ ।’ देशको परिवर्तणमा पत्रकारको भुमिका आफु कहिल्यै बिर्सन नसक्ने उनको तर्क थियो ।

मुख्यमन्त्री राउतले लिखित योजनाका साथ आउन आग्रह गर्दै पत्रकारिताका लागि संस्थागत सहयोग गर्न तयार रहेको प्रतिवद्वता व्यक्त गरेका छन् । कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले संघियता पश्चातको प्रादेशिक शासन र सरकारको महशुस प्रदेश २ ले मात्र अनुभव गराइरहेको भन्दै पत्रकारिता जगतको लागि पनि सोहि अनुसारको प्रभावकारी काम गरेर सहयोग गर्न आग्रह गरेका छन् ।

उनले प्र्रदेश २ मा पृथक सरकारको चर्चा रहेपनि पत्रकारको हितमा प्रदेश सरकार सकारात्मक रुपमा पृथक हुन नसकेको बरु नाकारात्मक पृथकको छाप परिरहेकाले सुधार गर्न आग्रह गरेका छन् । कर्मचारीहरुले असहयोग गरे आफुहरु त्यसको पर्दाफास गर्न तयार रहेको भन्दै आचार्यले भने, ‘पत्रकारको प्रादेशिक संरचना सुदृढ गर्ने जिम्मा समेत प्रदेश सरकारले नै लिनु सरकारकै लागि उत्तम होला ।’

कार्यक्रममा महासंघ केन्द्रका उपाध्यक्ष विपुल पोखरेल, सचिव शितल महतो, कोषाध्यक्ष राजेश मिश्र, वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपाली, बिएम खनाल, केन्द्रिय सदस्य शैलेन्द्र झा, प्रदेश कोषाध्यक्ष प्रविण साह, धनुषा उपाध्यक्ष मनिका झा सहित तिन दर्जन पत्रकारहरुको उपस्थिती थियो ।