एसपी रिपोर्टर
जनकपुरधाम, माघ ८ : मधेशमा जारी सितलहर र चिसाले प्रभावितहरुलाई राहत समाग्री उपलब्ध गराइएको छ । जाडोका कारण प्रभावित जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ र ८ का अति गरिव मुसहर समुदायका १ सय २५ परिवारमा नेपाल प्रहरी श्रमती संघले राहत वितरण गरेको छ ।
नेपाल प्रहरी श्रीमती सङ्घको आयोजनामा भएको राहत वितरणमा प्रति परिवार १ बोरा चामल, दाल, नुन, खाने तेल, कम्बल, जाडोमा लगाउने चप्पल र बच्चाका लागि न्यानो लुगा सहितको समाग्री प्रदान गरिएको छ । विगत १० दिन देखिको अत्याधिक जाडोका कारणले ती समुदायका विपन्न वर्गका व्यक्तिहरू निक्कै मारमा परेका थिए । राहत पाएकाहरू निक्कै खुसी भएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल प्रहरी श्रीमती संघका केन्द्रीय अध्यक्ष श्रृजना थापाले गरिब तथा विपन्न वर्गका व्यक्तिलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन । सङ्घले २०४१ साल देखि नै समाजसेवाको क्षेत्रमा कामकाज गर्दै आएको श्रीमती थापाले भनिन । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले चिसोको समयमा नेपाल प्रहरी श्रीमती सङ्घले यस क्षेत्रका अति विपन्न मुसहर जातिका परिवारमा राहत वितरण गरेर निक्कै सराहनीय काम गरेको बताए ।
नेपाल प्रहरी श्रीमती सङ्घ प्रदेश नंं २ का अध्यक्ष कुसुम लत्ता सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल प्रहरीका प्रदेश नंं २ का प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक चन्द्र प्रसाद गौतम, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख सहितका अधिकारीहरू उपस्थित थिए ।