एसपी रिपोर्टर
जनकपुरधाम, माघ ५ : मधेश आन्दोलनका अगुवा युवा रमेश महतोको हत्या पछि आन्दोलनले गति लिएको दिन माघ ५ लाई मधेशमा मधेशवादी शक्तिहरुले बलिदानी दिवसको रुपमा मनाउने गरेका छन् । प्रदेश २ मा रहेको मधेशवादीको सरकार देखि विभिन्न मधेश गतिविधीमा काम गर्ने संघ संस्थाहरु माघ ५ का दिन शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै मधेश आन्दोलनको मर्म स्मरण गर्छन ।
आजको दिन शहिदहरुको स्मरण, श्रद्धाञ्जली अर्पण तथा उहाँहरुको सहादतको उद्देश्य र उपलब्धीको चर्चा मात्र नभई असन्तुष्टिहरु समेत वाहिर आउन थालेको छ । तत्कालिन विभिन्न मधेश आन्दोलनका युवा अगुवा एवं घाइतेहरु मधेश आन्दोलनको जगमा बनेको सरकार र जनप्रतिनिधीहरुले समेत पुरानै राजनितिक संस्कार र प्रवृती देखाउन थालेपछि असन्तुष्टि जाहेर गर्न थालेका छन् ।

कतिपय त्यस्ता युवा अगुवाहरु त दिनैपिछे मधेशवादी नेता र सरकारको आलोचना समेत समाजिक सञ्जालमा गर्न थालेका छन् । शहिदहरुको कारण मुख्यमन्त्री र मन्त्री बनेकाहरु शहिद परिवार र आन्दोलनका योद्धाहरु भन्दा राजनितिक समिरकरणका लागि उहि नेकपा र कांग्रेसीहरुलाई काँखी च्याप्न थालेको, भ्रष्टाचारमा लिप्त भएको, परिवार र नातावादमा रमाइरहेको देखि सुरासुन्दरीमा लिन रहे सम्मको आरोप लाग्न थालेको छ ।
आज बलिदानी दिवसको अवसरमा मधेश आन्दोलनका अगुवा युवाहरु दिपक झा, अरुण झा सहित हिजो सम्म मधेशवादीकै नाराजुलुशमा भेटने जानी खान, सरोज मिश्र, शुसिल कर्ण सहितका दर्जनौं युवाहरु आज बेग्लै कार्यक्रम गरि आन्दोलनका सहयात्री शहिद योद्धाहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । उनीहरुले आन्दोलनको नेतृत्वकर्ता कहलिएकाहरु शहिद र मधेशको मर्मलाई धोका दिएको आरोप लगाएका छन् ।
उनीहरुले शहिद र घाइतेका परिवारजनको कहाली लाग्दो अवस्थामा कुर्सीको सिढि चढेकाहरुले मुखदर्शन र भाषण वाहेक केहि गर्न नसकेको बताइरहेका छन् । जनकचौकमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दिपेन्द्र साहको समेत उपस्थिती थियो ।

एता जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जानकी राम साह समेत आफनो वडामा छुट्टै कार्यक्रम गरि शहिद प्रति श्रद्धाञ्जली अर्पण गर्दै शहिद परिवारलाई सम्मान गरेका छन् । वडा अध्यक्ष साहले तपसीचौकमा शहिदहरुको श्रद्धाञ्जलीमा दिप प्रज्वलन तथा पुष्प अविर अर्पण गरि शहिद परिवारका केहि सदस्यलाई बोलाएर सम्मान गरेका छन् ।