एसपी रिपोर्टर
जनकपुरधाम, माघ ५ : माघ ५ गते मधेशमा बलिदानी दिवस मनाइदै छ । २०६३ माघ ५ गते सिरहाको लहानमा माओवादी समुहको गोली लागेर मधेश आन्दोलनकारी युवा रमेश महतोको मृत्यु भएको र त्यहिबाट मधेश आन्दोलन शसक्त रुपमा आगाडि बढेकाले सोहि दिनलाई मधेशमा मधेशवादी दलहरुले बलिदानी दिवसको रुपमा मनाउन थालेका छन् ।

तत्कालिन मधेशवादीदलहरु फोरम राजपा मिलेर बनेको प्रदेश २ सरकारले यस वर्ष समेत बलिदानी दिवसको अवसरमा विभिन्न कार्यक्रमका आयोजना गरेको छ । प्रदेश २ सरकारको आयोजनामा जनकपुरधाम उद्योग बाणिज्य संघको सभाहलमा आयोजित बलिदानी दिवस २०७७ मा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो सहितको सहभागिता रहेको छ ।

शहिद रमेश महतोकी आमाको समेत विशेष उपस्थितीमा आयोजना गरिएको कार्यक्रममा जसपाका नेता अनिल झा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरु जितेन्द्र सोनल, नवलकिशोर साह, ज्ञानेन्द्र कुमार यादव, रामनरेश राय, राज्यमन्त्रीहरु डिम्पल झा, सुरेन्द्र मण्डल, सरोज सिंह कुशवाहा प्रदेश सांसद परमेश्वर साह, रामअशिष यादव, सुरिता साह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह सहितको सहभागिता रहेको छ ।

मधेश आन्दोलनका शहिदहरुको प्रतिमा मञ्चको अगाडिमा राखेर राष्ट्रिय गान तथा शहिदहरु प्रति श्रद्धाञ्जलीका लागि मौन धारण गरि शुरु भएको कार्यक्रममा वक्ताहरुले क्रमश सम्बोधन गर्ने क्रम जारी रहेको छ ।

प्रदेश २ सरकारले बलिदानी दिवसको अवसरमा प्रदेश २ मा सार्वजानिक विदाको समेत घोषणा गरेको छ ।
