एसपी रिपोर्टर
जनकपुरधाम, पुष २९ : जनकपुरधामको एतिहाँसिक प्राचिन तथा मुख्य धरोहर श्री जानकी मन्दिरमा जारी मुख्यमन्त्री स्वच्छता अभियान कामको मुख्यमन्त्री लालबाबु राउतले स्थलगत निरिक्षण तथा अवलोकन गरेका छन् । साथै मन्दिर प्राङ्गण तथा फुलवारीमा जडान गरिएको वत्ती (टावरलाइट) को समेत मुख्यमन्त्री राउतले समुदघाटन गरेका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज साँझ मन्दिर क्षेत्र पुगेर निरिक्षण अवलोकन गर्नुका साथै बत्ती बालेर समुदघाटन गरेका छन् । सो अवसरमा मुख्यमन्त्री राउतले प्रदेश २ कै मुख्य सम्पदा धरोहर श्री जानकी मन्दिर सौन्दर्यकरणका लागि प्रदेश सरकार कुनै पनि काममा बजेट अभाव हुन नदिने भन्दै समयमा राम्रो काम गर्न मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक सिडिई भगवान झालाई आग्रह गरेका छन् ।

मुख्यमन्त्रीले मन्दिरमा जारी अभियानको कामहरु दुई साता भित्रै समपन्न गर्न समेत निर्देशन दिएका छन् । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, श्री जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष ललित कुमार साह सहितको उपस्थिती थियो ।
