एसपी रिपोर्टर
जनकपुरधाम, पुष २४ : नेपालमा राजतन्त्र र हिन्दुराष्ट्र पुर्नस्थापनाको लागि राजावादीहरु सक्रियता बढाउदै गएका वेला अगामि पुष २७ गतेको पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवसमा चौतर्फी सहभागिताका लागि अपिल हुन थालेको छ ।
करिव एक दशक देखि राजावादी र केहि हिन्दु संघ संस्थाले मात्र मनाउदै आएको पृथ्वी जयन्तीमा भब्यताका लागि नेपाली कांग्रेस र नेकपामा पनि आवाज उठन थालेको छ । नेपाली काँग्रेसभित्र ‘राष्ट्र निर्माता’ पृथ्वी नारायण शाहको सम्मानमा पुस २७ गते पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस मनाउनुपर्ने आवाज उठेको छ । काँग्रेसका पूर्व प्रमुख सचेतक तथा पूर्व केन्द्रीय सदस्य लक्ष्मणप्रसाद घिमिरे र महासमिति सदस्य लोकेश ढकालले सभापति शेरबहादुर देउवा समक्ष निवेदन पेश गरेका छन् ।
राजनीतिक यथार्थलाई मनन् गर्दै काँग्रेसले २७ पौषको राष्ट्रिय महत्वको दिनलाई राष्ट्रिय पर्वको रूपमा मनाउन र त्यस दिन सार्वजनिक विदा दिने पक्षमा उभिदै त्यसै बमोजिम निर्णय गर्न सरकारलाई दवाव दिन उनीहरुले देउवा समक्ष माग गरेका हुन् । राष्ट्र र राष्ट्रियताको कुरा गर्दा नेपाल राष्ट्रको एकिकरण गर्ने, राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाहलाई सम्मान नगर्नु, उनको योगदानको चर्चा नहुनु दुःखद् पक्ष भएको भन्दै निवेदनमा काँग्रेसकै पालामा बिदा कटौती गर्ने काम भएको पनि उल्लेख गरिएको छ ।
कांग्रेसका महामन्त्री शशांक कोइराला नेतृत्वको समुह स्पष्ट रुपमा हिन्दु राष्ट्रको पक्षमा वौकालत गरिरहेको अवस्था छ ।
मधेश अभियन्ताको यस्तो छ अपिल
मधेशको जानकार र विश्लेषक मानिने मधेश विषयमा पिएचडी समेत गरेका पत्रकार राजेश अहिराज समेत पृथ्वी जयन्ती मनाउन टवीटर मार्फत सवैमा अपिल गरेका छन् । उनले गरेको टवीटमा भनिएको छ, ‘ राष्ट्रिय एकता दिवसमा खुलेर भाग लिनुस । आउदो पुस २७ गते सोमबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा खुलेर भाग लिनुस । यो दिवस नेपालीहरुको साझा दिवस हो, राजावादीको मात्र होइन ।’
तर यसलाई भने मधेशमा पृथक तरिकाले बुझन थालिएको छ । नाम उल्लेख नगर्ने सर्तमा जनकपुरधामका एकजना बुद्विजिवीले भन्छन, ‘राजेश अहिराज जी राष्ट्रपती र प्रधानमन्त्रीको शुभचिन्तक हुनुहुन्छ वहाँले पृथ्वी जयन्ती मनाउन अपिल गर्नु मधेशसंगको नयाँ सांकेतिक डिश्कोर्ष हो ।’
नेकपामा पनि झुकाव
नेकपाको अनौपचारिक विभाजन पछि ओली समुहमा पनि पृथ्वी जयन्ती भब्यताका साथ मनाउने छलफल भइरहेको स्रोतको भनाई छ । प्रधानमन्त्री ओलीलाई संघियता नै हटाइदिनोस भन्ने सुझाव भेटन थालेका बेला पृथ्वी जयन्तीमा सहभागिता बढनु स्वभाविक रहेको जानकारहरु बताउछन् । नेकपा दल भित्रको विवादका कारण आक्रोसित प्रधानमन्त्रीले संसद विघटनको कदम उठाएपछि संक्रमणमा फँसेको देशमा देश भित्र र वाहिरका परिवर्तण विरोधी शक्तिहरु हावी हुनु स्वभाविक रहेको स्थानियको धारणा छ ।