एसपी रिपोर्टर
काठमाण्डौं, पुष २० : जनता समाजवादी पार्टीको शुभेच्छुक संगठन राष्ट्रिय ईन्जिनियर संघमा सैयौं ईन्जिनियरहरु प्रवेश गरेका छन् । काठमाण्डौंमा संघका केन्द्रिय अध्यक्ष सिडिई भगवान झाको अध्यक्षतामा भएको कार्यक्रममा संघमा प्रवेश गरेका करिव एक सय पचास युवा ईन्जिनियरहरुलाई पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोले स्वागत गरेका छन् ।
काठमाण्डौंमा आज आयोजित समसामयिक राजनैतिक अवस्था र ईन्जिनियरहरुको भुमिका सम्बन्धि अन्तरक्रिया एवं छलफल विषयक कार्यक्रममा जसपा भुमिका र ईन्जिनियरहरुको हकहितका विषयमा गहन छलफल गर्नुका साथै जसपा राज्ने युवाहरुलाई प्रवेश गराइएको झाले बताए ।
अध्यक्ष सिडिई झाका अनुसार अगामि चैत २० गते ईन्जिनियरहरुको छाता संगठन नेपाल ईन्जिनियर एशोसिएशनको निर्वाचनमा समेत कसरी सफलता हासिल गर्ने सहितका विविध विषयमा छलफल गरिएको छ । साथै नेपाल तराई ईन्जिनियर समाजसंगको सहकार्यमा संघको ७७ जिल्लामा शाखा विस्तार गर्ने रणनिति तयार गर्नुका साथै अगामि माघ पहिलो साता जनकपुरधामको तिरहुतिया गाछीमा हजारौको संख्यामा ईन्जिनियरहरुको राष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत गरिएको उनले बताए ।
नेताद्वय ठाकुर र महतोले झाको नेतृत्वमा संघले आफनो सांगठन विस्तार र सफलताका साथै जसपासंग संगै मिलेर देश विकासमा लाग्ने तर्फ सोच्न संघमा आवद्व ईन्जिनियरहरुलाई आहवान गरेका छन् ।