एसपी रिपोर्टर
जनकपुरधाम, पुष १९ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अव ओली प्रदेशसभा समाप्त गर्ने र उत्पन्न हुने आन्दोलनलाई दबाउन देशमा संकटकाल लागु गरि सेना परिचालन सम्म गर्ने खुलासा गरेका छन् । समाजवादी युवा संघ नेपालको जनकपुरधाममा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै नेता यादवले प्राप्त उपलब्धीहरु समाप्त गरि निरंकुश सत्ता सञ्चालनका लागि तयारी गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री केपि शर्मा ओली महेन्द्रवादी र नश्लवादी चिन्तनको रहेको आरोप लगाउदै यादवले भने, ‘ओलीको बोलीमा लय मिलाउने देउवाको चरित्र पनि शंकाष्पद रहेकाले कांग्रेस कांग्रेस नभई मुखौटा मात्र रहेको बताए ।’ नेपालको कांग्रेसमा लोकतन्त्र कतै पनि नरहेको उनको तर्क छ ।

यादवले आफुहरु अझै पनि संविधानलाई पुर्ण रुपमा नस्वीकारेको बताउदै संविधान भित्रको गलत प्रावधानहरु निर्वाचन प्रणाली, शासकिय स्वरुप, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, बहुभाषिक निति सहितका कुराहरु सुधार गर्नुपर्ने मांग गरिरहेको बताए । यद्यपि संविधानले संघियता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताको सिद्वान्त अंगिकार गरेको र ति सम्पुर्ण उपलब्धी मधेशको आन्दोलनको देन रहेकाले बचाउने अभिभारा समेत मधेशकै हुने बताए ।

कार्यक्रममा बोल्दै जसपाका नेता सरत सिंह भण्डारीले देश बचाउने बेला आएकाले युवा जनशक्ति खवरदार हुनु पर्ने बताए । संघियता र गणतन्त्र धरापमा रहेकाले कम्युनिष्टहरुको चाललाई बुझेर हरहमेशा तयारी अवस्थामा रहनु पर्ने उनको जिकिर थियो । जसपाका नेताहरुका अनुसार ओलीलाई संविधानमा रहेको मौलिक अधिकार र आरक्षण त झनै पचेको छैन । राजा ज्ञानेन्द्र र ओली दुवैले आरक्षणलाई जातीयताको रुपमा विश्लेषण गर्ने गरेको तर्फ उनीह्रुको संकेत छ ।

कार्यक्रमलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समेत सम्बोधन गरेका थिए । उनले ओली दिन समाप्त हुने वेला आएको बताएका थिए ।