एसपी रिपोर्टर
जनकपुरधाम, पुष १९ : मिथिला नाटय कला परिषद(मिनाप) देशमा मात्र नभई विदेशमा समेत आफनो पहिचान बनाउदै गएको कलाकारहरुको संस्था हो । जनकपुरधामको मिनाप नेपालको सरकारी र गैरसरकारी निकायमा समेत उतिकै पहिचान बनाइसकेको छ । तर मिनाप माथी अझै नाता र कृपावादको आरोप लागिरहेको छ ।
शनिवार मिनापको नवनिर्मित भवनमा आयोजित ४१ औं साधारणसभामा पुर्व कलाकार समेत रहेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल कुमार मिश्रले शुभकामना मन्तब्य राख्ने क्रममा शुभकामनाका साथै भने, ‘ ४१ वर्षको मिनाप अधबैसु जस्तै हो, तर मिनापको नयाँ उत्पादन के ? मिनापले कति नयाँ कलाकार जन्माए, नाता र परिवारवादबाट वाहिर आउन नसकेको आरोप कहिले सम्म झेल्ने ?’
आजको युगमा पनि परिवार र नातावादबाट वाहिर आउन नसकेको आरोप खेप्नु मिनापकै लागि दुःखद रहेको उनको संकेत थियो । मिश्रको मन्तब्यमा जोडदार ताली बजेको थियो तर आफनो मन्तब्यमा भने वक्ताहरुले शुभकामना मात्र दिएका थिए । आफनै जमिनमा मिनापको नयाँ भवन निर्माण गर्न सफल मिनापका अध्यक्ष परमेश झाको अध्यक्षतामा भएको साधारणसभामा मिनापका पुर्व अध्यक्षहरु, सल्लाहकारहरु सहितको उपस्थिती थियो ।
साथै शनिवारकै साधारणसभाले सर्वसम्मत राम्रो काम गरेको भन्दै परमेश झाकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा एकआध वाहेक अधिकांशलाई सोहि पदमा दोहरयाउदै नयाँ कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा संगीता देव, अर्का उपाध्यक्षमा रामकैलाश ठाकुर, महासचिव शैलेन्द्र मल्लिक, सचिव संदीप साह, कोषाध्यक्ष अनितारानी मण्डललाई चयन गरिएको छ । साथै सदस्यहरुमा चन्द्रशेखर यादव, धीरज ठाकुर, सन्नी राउत, मुकेश ठाकुर, मुकेश झा, धर्मेन्द्र मिश्र र सपना श्रेष्ठ चयन भएका छन् ।