एसपी रिपोर्टर
जनकपुरधाम, पुष १७ : आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपाली सहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ‘ग्रेगोरियन पात्रो’ भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।
इस्वी संवतको नयाँ वर्षको अवसरमा विगतमा नेपालमा शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु हुन्थे । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण भीडभाड हुने कार्यक्रमहरु आयोजना गरिएका छैनन् । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।
यस हरेक नयाँ वर्षको अवसरमा नेपाल समेत विशेष धुमधाम हुन थालेको छ । नेपालमा वि.सं.को आफनै वर्ष क्यालेन्डरको प्रावधान रहेपनि विश्व समुदायले अपनाएको इस्वी संवतको नयाँ वर्षमा नेपालीहरु समेत विशेष धुमधान गरि रमाइलो गर्ने गरेका छन् । यस दिन पिक्निक स्पोटहरुमा गएर परिवारजन तथा साथीभाई इष्टमित्रहरु संग रमाइलो गर्ने र शुभकामना आदान प्रदान गर्ने परम्परा छ ।