एसपी रिपोर्टर
जनकपुरधाम, पुष ११ : स्वर्गीय रामलखन चौधरी स्मृति कप नवौ प्रदेश स्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिताको उपाधि श्री रत्न ज्योति युवा क्लब धनुषाले जितेको छ । गौशाला नगरपालिका वडा नं.४ मा मंसिर २७ गतेदेखि सुरु भएको प्रतियोगितामा आज भएको फाइनल खेलमा धनुषाको ढल्केवर युनाइटेड स्पोर्ट क्लबलाई पराजित गर्दै धनुषाको रत्नपुरको श्री रत्न ज्योति युवा क्लब विजेता बन्न सफल भएको हो ।

निकै कडा प्रतिष्पर्धा भएको दुवै टीमको खेल निर्धारित समयमा बराबरीमा टुंगिएपछि पेनाल्टी सुट आउटमा ४ को विरुद्ध ५ गोल गरि श्री रत्न ज्योति युवा क्लब धनुषा उपाधि सुरक्षित गर्न सफल भएको हो । ढल्केवर युनाइटेड स्पोर्टस क्लब उपबिजेतामै चित बुझाएका छन् ।

बिजेता टीमलाई ६० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको छ भने उपबिजेतालाई नगद ३० हजार सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यतामा प्रतियोगिताको आज भएको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘मन्त्रि हुनु भन्दा पहिला म पनि एउटा खेलाडी थिएँ र अनेक थरिका खेल खेल्दै आज मन्त्रि समेत भएको छु, खेलाडीले खेलमा नाम र दाम दुवै पाउछ ।

कोरोनाको कहर चलिरहेको बेला खेलाडीहरुमा खेलको माध्यमबाट ह्म्युनिटी पावर बढ्ने गर्छ ।’ उनले प्रदेशलाई खेलको सेन्टर स्थल बनाउने तयारीमा रहेको बताउँदै प्रदेश २ मा ५ ठाउमा अन्तराष्ट्रिय रंगशाला बनाइरहेको बताए । मन्त्री यादवले गौशाला नपा वडा नं.४ अन्तर्गत रहेको खेल मैदानको स्तरोन्नतीको लागि प्रदेश सरकारबाट २५ लाख नगद सहयोग गराउने प्रतिबद्धता जनाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !