एसपी रिपोर्टर
जनकपुरधाम, पुष ६ : नेपाली काङ्ग्रेसका नेता एवं प्रजातान्त्रिक आन्दोलनका अगुवा रामनारायण मिश्रको ५३ औं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली एवं प्रार्थना सभाको आयोजना गरिएको छ । रामनारायण मिश्र स्मारक समितिको आयोजनामा जनकपुरधाममा सोमबार भजन किर्तन र एक मिनेट मौन धारण गरि प्रार्थनासभा तथा श्रद्धाञ्जली अर्पण गरिएको हो ।
स्मारक समितिका सचिव एवं नेपाली काङ्ग्रेसका नेता किशोरी साहको अगुवाइमा स्थानीय गंगा सागरको पुर्वी डील स्थित उहाँको अन्तिम संस्कार स्थलमा आयोजित प्रार्थना सभामा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता हरुको बाक्लो उपस्थिति रहेको थियो ।

स्व . मिश्र राणाकालीन निरंकुश जहाँनिया शासनको विरुद्धमा २००४ साल देखि नै लोकसेवक संघको माध्यमबाट विभिन्न रचनात्मक कृयाकलापहरु गर्दै जनचेतना जगाउँदै नेपाली काँग्रेसद्वारा सञ्चालित २००७ सालको सशस्त्र क्रान्तिमा होमिनु भएको थियोे ।

२०१५ साल फाल्गुन ७ गते भएको संसदीय आमनिर्वाचनमा प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भइ जननायक बिशेश्वर प्रसाद कोइरालाको नेतृत्वमा २०१६ साल जेठ १३ गतेमा गठित मन्त्रीमण्डलमा उधोग वाणिज्य मन्त्री समेत रहनु भएको थियोे । जनकपुरमा चुरोट कारखाना र बिरगंज चिनी मिलको स्थापनाको पहल उहाँकै कार्यकालमै भएको थियो ।

तस्वीर : वरिष्ठ पत्रकार रामभरत साहको फेसुबकबाट