एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ : जनकपुरमा ११ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । विवाहपञ्चमीको अवसरमा आइतबार जानकी मन्दिर परिसरमा ११ जोडीको सामूहिक आदर्श विवाह भएको हो । नेपाल हिन्दु राष्ट्र संघले आयोजन गरेको सामूहिक आदर्श विवाहमा धनुषा लगायत अन्य जिल्लाका दुल्हा तथा दुल्हीले विवाह गरेका हुन् ।

विवाहको सम्पूर्ण खर्च नेपाल हिन्दु राष्ट्र संघले गरेको संघका धनुषा जिल्ला अध्यक्ष सन्तोष साहले बताए । समाजमा रहेको दाईजो प्रथालाई निरुत्साहित गर्ने उद्देश्यले ११ जोडीको सामूहिक आदर्श विवाह जानकी मन्दिरमा रामजानकीको लागि बनाइएको मण्डपमै आज गराइएको हो ।

त्रेता युगमा पनि राम र सीताको आदर्श विवाह भएको तर, बर्तमानमा दाइजो प्रथाले समाजमा व्याप्त विकृति, हत्याहिंसा, छोरीप्रति विभेद बढेकाले त्यसको न्युनिकरण गर्ने अठोट सहित संघले आदर्श विवाह गर्ने जोडीहरुलाई आफ्नै खर्चमा विवाह गराएको संघका अध्यक्ष साहको भनाइ छ ।

सामूहिक विवाह हेर्न जानकी मन्दिरमा सर्वसाधारणको घुइँचो लागेको थियो । विवाह अघि ११ जना बेहुलालाई रथमा चढाएर नगर परिक्रमा गराइएको थियो । तत्पश्चात जानकी मन्दिरमा सामुहिक सोयम्बर तथा विवाह गरिएको छ ।
टुडेपाटीबाट, तस्वीर : पत्रकार कुल्दिप दास प्रेम