एसपी रिपोर्टर
जनकपुरधाम, पुष २ : मिथिलाञ्चलमा प्रत्येक वर्ष भब्यताका साथ मनाइने विवाह पञ्चमी महोत्सवको चौथो दिन आज तिल्कोत्सव कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वर्ष जस्तै राम मन्दिरको प्राङ्गणमा भएको सो कार्यक्रममा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास बैष्णव (वेहुली पक्ष) र राम मन्दिरका महन्थ राम गिरी (वेहुला पक्ष) विच सम्धी मिलान भएको छ ।
विवाहपञ्चमी भन्दा दुई दिन पूर्व हुने तिलकोत्सव साताव्यापी विवाहपञ्चमीको मुख्य आकर्षण हुने गरेको छ । यस अवसरमा स्थानीय श्री राम युवा कमिटिले (बराती)जन्तीको बन्दोवस्त गर्ने गरेको छ भने श्री महाबीर युवा कमिटिले जानकी मन्दिरको तर्फबाट अर्थात (सराती) बेहुलीको पक्षमा रहने गरि समधी मिलान कार्यक्रममा सहभागि हुने गरेका छन ।
भिडियोमा तिलकोत्सव समारोह

सो अवसरमा राममन्दिरको प्रांगणमा शुक्रवार बेलुका श्रद्धालुभक्तजनहरुको व्यापक भिड लागेको छ । भारतिय तथा नेपालकका गरी हजारौ भतmजनहरुको अगाडि समधी मिलानमा जानकी मन्दिरका महन्थ जानकीको बुबा र राम मन्दिरका महन्थ भगवान रामको बुबाको रुपमा सहभागि रहनु भएको थियो । तिलकोत्सव हुनु भन्दा पूर्व जानकी मन्दिरवाट १ सय १ वटा पाहुर ( भिष्ठार सहितको भार) राम मन्दिरमा पठाइएको छ । पाहुरलाई लिएर जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णव स्वयंम राम मन्दिर पुगेका थिए ।

साथै सो अवसरमा प्रदेश सरकारका मन्त्री, प्रदेश सांसद, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, धनुषाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहित प्रशासनिक निकायका प्रमुखहरुको समेत सहभागीता रहेको छ ।

गत सोमवारबाट सुरु भएको सप्ताह व्यापी कार्यक्रममा पहिलो दिन नगरदर्शन कार्यक्रममा जनकपुरधाम आएका भगवान श्री रामलाई नगरदर्शन गराइएको थियो भने दोस्रो दिन फुलवारी लिला अन्तर्गत रामजानकीको भेट फुलवारीमा गराइन्छ । तेस्रो दिन धनुष यज्ञमा भगवान श्री रामले धनुष भाचेका थिए भने तिल्कोत्सवमा वेहुला र वेहुली पक्षको अभिभावक बिच सम्धी मिलान गर्ने परम्परा छ । भोली मटकोर विधि र शनिवार स्वयंवर तथा वैवाहिक कार्यक्रम हुनेछ भने आइतवार रामकलेवा हुदै महोत्सवको समापन हुनेछ ।

