एसपी रिपोर्टर
सर्लाही, पुष १ : विभिन्न पाँच सुत्रिय मांग राख्दै सर्लाहीमा सुरु भएको आन्दोलनको क्रममा आज सर्लाही बन्द गरिएको छ । अनिश्चिकालिन रिले अनसनबाट मशाल जुलुश हुदै बन्द सम्म पुगेको आन्दोलनका क्रममा आज बन्द गरिएको हो । जसपाका नेता कार्यक्रताहरु सहित सर्वपक्षिय संघर्ष समितिद्वारा सुरु गरिएको आन्दोलनको क्रममा आज जिल्लाको सदरमुकाम बन्द गराइएको छ ।
जसपाका प्रदेश सांसद अशोक यादवको नेतृत्वमा मोटरसाइकल जुलुश प्रदर्शन गर्दै सदरमुकाम स्थित सरकारी कार्यालयहरु बन्द गराइएको छ । भन्सार कार्यालय बन्द गराइएको छ भने भन्सार बेरियर खोल्न लगाइएको छ । नेपाल–भारत सिमा खुल्ला गर्नुपर्ने, निर्माणाधिन हुलाकी राजमार्गको स्तरोनती गर्नुपर्ने, अन्य शाखा सडक तथा पुलहरुको गुणस्तरको छानबिन गर्नुपर्ने, मुआब्जाको उचित व्यवस्था गर्नुपर्ने र हुलाकी राजमार्ग निर्माणमा ठेक्काको म्याद थप्न नहुने सहितका मांगहरु राख्दै समिति आन्दोलित छ ।

आन्दोलनका कार्यक्रमहरुमा जसपाका वरिष्ठ नेता महेन्द्र राय यादव, संघिय सांसद प्रमोद साह र प्रदेश सांसद अशोक यादव, कांग्रेसका जंगीलाल राय सहितको सहभागिता रहने गरेको छ । उनीहरुले तराई मधेशमा हुने विकास निर्माणका महत्वकांक्षी योजनाहरुमा केन्द्रले मनपर्दी गर्ने गरेको आफना आसेपासेका ठेकेदारहरुलाई लगाउने गरेकाले समयमै काम हुन नसक्नु र गुणस्तर काम हुनु मुख्य समस्या रहेको बताए । १० औं दिन आज पनि रिले अन्सन जारी रहेको बताइएको छ ।

नेताहरुले कोरोनालाई देखाएर अहिले पनि षडयन्त्र तहत नेपाल–भारत सिमा बन्द गरिएकाले मधेशका जनता पिडित बनेको भन्दै निशर्त सिमा खुल्ला गर्नुपर्ने बताए । मशाल जुलुसमा जसपाका केन्द्र देखि नगर सम्मका नेताहरुको सक्रियता रहेको छ । मंगलवार जिल्ला बन्दकै आवहान गरिएको समितिले जनाएको छ ।