एसपी रिपोर्टर
काठमाण्डौं, पुष १ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले जबरजस्ती अध्यादेश ल्याउँदा संविधानमाथि बलात्कार भएको टिप्पणी गरेका छन् । उनले अध्यादेशले ऐन संशोधन गर्न पाइने भएपनि संविधान संशोधन गर्न नपाइने बताउँदै अहिले जारी भएको अध्यादेशले एकैपटक ऐन र संविधान दुवैलाई संशोधन गरेको बताएका छन् ।
उनले अहिले जारी भएको अध्यादेश नेपालको संविधान विरुद्धसमेत रहेको बताएका छन् । उनले भनेका छन्, यो अध्यादेश नेपालको संविधानको भावना विरुद्ध पनि छ । यो अध्यादेश नेकपाको सचिवालय र स्थायी कमिटीको भदौ २६ को निर्णयका विरुद्धमा पनि छ ।
उनले लेखेका छन्,’अध्यादेशले ऐन संशोधन गर्न पाइन्छ संविधान पाइन्न । अहिले जारी अध्यादेशले एकैचोटि ऐन र संविधान दुवैलाई संशोधन गरेको छ । कतिपय ऐनमा संविधानको व्यवस्था जस्ताको त्यस्तै राखेको हुन्छ। त्यो संशोधन गर्न ऐन होइन संविधान नै संशोधन गर्न पर्छ। जवरजस्ती गरियो भने त्यो संविधान माथिको बलात्कार हुन्छ। अहिले त्यही भएको छ। यो नेपालको संविधानको भावना विरुद्ध पनि छ ।
आफूअनुकूल संवैधानिक नियुक्ति गर्ने मनासयका साथ प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपतिबाट उक्त अध्यादेश जारी भएलगत्तै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच प्रचण्डनिवास खुमलटारमा छलफल भएको थियो ।