एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर ३० : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आन्तरिक विवादका कारण नेकपाले मुलुकलाई बन्धक बनाएको आरोप लगाएका छन् । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको मनरा सिस्वा नगरपालिका वाडन नं. १० मधवामा पोखरी सौन्दर्यीकरणको शिलान्यास गर्दै अध्यक्ष ठाकुरले मुलुक कोरोना महामारीका कारण अस्तव्यस्त बनेको अवस्थामा समेत आन्तरिक किचलोका कारण नेकपा नेतृत्वको सरकारले मुलुकलाई सही मार्ग दिन नसकेको बताए ।
शिक्षा, स्वास्थ्य, व्यवसाय सबै धाराशायी बनेको उल्लेख गर्दै अध्यक्ष ठाकुरले भने, ‘कोरोना महामारी लगायतको समस्याले मुलुक जटिल अवस्थामा छ, तर नेकपा आन्तरिक विवादमै मस्त छन ।’ कार्यक्रममा विशिष्ट अतिथि मुख्यमन्त्री लालबाबु राउतले संघ सरकार प्रदेश २ संग सौताको व्यवहार गरि रहेको आरोप लगाए । बजेटको बाँटफाँड लगायतको विषयमा केन्द्र सरकार आफुहरु संग सौताको व्यवहार गर्दै आएको उनको कथन थियो ।

प्रदेश सरकार सिमित स्रोत साधनका बीच विकास निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले अधिकार सहितको संघीयता कार्यान्वयनका लागी प्रदेश सरकार संघ सरकार माथि एक पछि अर्को मुद्दा दिदै कानूनी लडाई लडी रहेको उल्लेख गरे ।

मनरा सिस्वा नपाका प्रमुख संजय सिंहको अध्यक्षतामा भएको उक्त शिलान्यास कार्यक्रममा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सभा सदस्य रानी शर्मा तिवारी, पुर्व प्रदेश प्रमुख उमाकान्त झा, अल्का झा, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा र मुख्यमन्त्री स्वच्छता अभियानका प्रमुख सिडिई भगवान झा सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

तीन करोड ५५ लाखको लागतमा १५ महिना भित्र उक्त पोखरीको सौन्दर्यीकरण कार्य सम्पन्न हुने मुख्यमन्त्री स्वच्छता अभियानका सिनियर डिभिजनल इन्जिनियरको भनाई छ ।
