एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २८ : जन्मसिद्धको आधारमा वंशज नागरिकता दिनुपर्ने माग गर्दै पिछडावर्ग ओबिसी महासभाले जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् । पूर्व निर्धारित कार्यक्रम अनुसार पिछडावर्ग ओबिसी महासभाले आईतवार एकैसाथ ११ जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
गएको मंसिर २० गते धनुषाको ढल्केवरमा सम्पन्न राष्ट्रिय विस्तारित बैठकले जन्मसिद्धको आधारमा वंशज नागरिकता प्रदान गर्नुपर्ने माग गर्दै मधेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार आईतवार एकैसाथ प्रदेश १ को झापा, मोरङ्ग, सुनसरी र प्रदेश २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको पिछडावर्ग ओबिसी महासभाका राष्ट्रिय अध्यक्ष रामकुमार महतोले जानकारी दिए ।
यता धनुषामा पनि पिछडावर्ग (ओबिसी) महासंघ धनुषाले विभिन्न दुई सुत्रिय मांग सहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । जिल्ला कार्यसमिति धनुषाका अध्यक्ष श्रवण कुमार महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका उनीहरु नागरिकता र समाजमा विद्यमान विकृती विसंगतीलाई अन्त्यको मांग गरेका छन् ।
उनीहरुको पहिलो मांग जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई बंसजको नागरिकता प्रदान गर्नु पर्ने र समाजमा दिनानुदिन बढदै गैरहेको हत्या हिंसा, बलात्कार, भ्रष्टाचार लगायत समाजमा फैलिएको विकृती र विसंगतिको अन्त्य गर्नु पर्ने रहेका छन् ।
प्रमुख जिल्ला अधिकारीलाई सो मांगहरु समेटिएको ज्ञापन पत्र समेत बुझाएका उनीहरु मांगको सुनुवाई नभए आन्दोलन गर्ने बताए । कार्यक्रममा दर्जनौको सहभागिता रहेको थियो ।