एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २२ : धनुषाको सबैला नगरपालिकास्थित वडा नम्बर ८ को ठिल्लामा आसमान नेपाल अन्तरगत सञ्चालित निक शिक्षा दिअ परियोजनाको अगुवाईमा घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ ।
वडा अध्यक्ष दुर्गाप्रसाद राय, निक शिक्षा दिअ परियोजनाका पालिका संयोजक सुरेश यादव, सरस्वति मावि ठिल्ला सबैलाका प्रधानाध्यापक नथुनी साह, जनता प्रावि ठिल्लाका प्रधानाध्यापक दिनेश राय, युवा सुधार समिति ठिल्लाका अध्यक्ष ईन्जिनियर दिपेन्द्र राय, वडास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा लगायत व्यक्तिहरुको सहभागिता रहेको थियो ।
समुदायका शतप्रतिशत बालबालिकालाई विद्यालयमा भर्ना गराउन र विद्यालयमा भर्ना रहेका बालबालिकाहरुलाई नियमित विद्यालय हाजिर गराउने उदेश्यले घरदैलो कार्यक्रम आयोजना गरिएको निक शिक्षा दिअ परियोजनाका पालिका संयोजक यादवले बताए । एक वर्ष अघि निक शिक्षा दिअ परियोजना र सबैला नगरपालिकाले संयुक्त रुपमा नगरपालिकामा गरेको घरधुरी सर्वेक्षणको प्रतिवेदन तथा घरदैलो कार्यक्रमको आधारमा उक्त वडाका करिब ९९ प्रतिशत बालबालिका विद्यालयमा भर्ना भइसकेको उनको भनाई छ ।
घरदैलो कार्यक्रमले विद्यालयमा नियमित उपस्थितिमा सुधार हुनुका साथै विद्यालय भर्ना हुने क्रममा पनि प्रगति देखिएको जनता प्राविका प्रधानाध्यापक रायले जानकारी दिए । सरस्वति माविका प्रधानाध्यापक साहले घरदैलो कार्यक्रमको प्रभावले विद्यालयमा उपस्थिति बढेपछि कक्षाकोठा र फर्निचरको अभाव हुन थालेको बताएका छन् ।