एसपी रिपोर्टर
बुटवल, मसिंर २१ : बुटवल स्थित कलश होटलमा गोली चल्दा एक घाइते भएका छन् । गोली प्रहारवाट राकेश न्यौपाने घाइते भएका छन् । गोली चलाएको आशंकामा दुईजना पक्राउ समेत गरिएको छ । घटना स्थलमा प्रहरी पुगेको र गोली के कारणले कस्ले चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको स्थानिय सञ्चारकर्मीहरुले जनाएको छ ।
प्रहरीका अनुसार भक्तबहादुर थापा र कर्ण बहादुर राउत पक्राउ परेका हुन । घटनास्थलवाट गैडाको एक खाग बरामद भएको र घाइते न्यौपानेको घाँटीमा गोली लागेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको हो । चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ ।

उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा छापा मार्न प्रहरी पुगेको प्रहरीको दावी छ । प्रहरी टोलीलाई होटेलमा रहेका व्यक्तिले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा उनलाई नै गोली लागेर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए ।
उक्त होटेलमा बसेका अन्य दुई जनालाई नियन्त्रणमा लिएको र एकजना भागेको प्रहरीको भनाइ छ । प्रहरीहरु सादा पोशाकमा होटेलमा गएका थिए । घटनाको विस्तृत विवरण आउन वाँकी छ ।
