एसपी रिपोर्टर
काठमाण्डौं, मसिंर १८ : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संकट टार्न विकल्पका रुपमा नयाँ रणनीति चालेका छन् । उनले अध्यक्ष छाडेर समस्याको हल निकाल्ने प्रत्यन गर्दै पूरा कार्यकाल सरकार सञ्चालन गर्ने रणनीतिक प्रयास थालेका हुन् ।
विश्वस्त स्रोतका अनुसार ओलीले अध्यक्ष छाडेर माधवकुमार नेपाललाई उक्त पदमा ल्याउनेगरी राजनीतिक लेनदेनको पहल थालेका हुन् । त्यस पछि पार्टीका अध्यक्ष नेपाल र प्रचण्ड हुनेछन् र ओलीले नेपाललाई सहयोग गर्ने छन् । त्यसका लागि ओलीनिकटस्थहरुले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल अगाडि बढाएका छन् । तर, नेपालले सकारात्मक जवाफ नदिइसकेको बुझिएको छ । नेपाल ओलीलाई दुवै पदबाट हटाउने रणनीतिका साथ अगाडि बढेका छन् । उनको कदमले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आक्रामक रुपमा ओली विरुद्ध प्रस्तुत भइरहेका छन् ।
नेकपाभित्र ओलीलाई तीन दिनको अल्टिमेटम दिएर २० मंसिरका लागि सचिवालय बैठक बोलाइएको हो । उक्त अवधिभर ओलीले नयाँ राजनीतिक अस्त्रका रुपमा माधव नेपाललाई अध्यक्ष छाड्ने विकल्प भित्री रुपमा सार्न लागेको बुझिएको छ । ओलीले शनिबारको सचिवालय बैठकमा शर्तसहित आफू अध्यक्ष पद छाड्न तयार रहेको बताएका थिए । तर, उनले नयाँ पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने शर्त राखेका हुन् । ओलीले प्रधानमन्त्री पद भने छाड्ने कतै उल्लेख गरेनन् । ओलीको भनाईले उनी प्रधानमन्त्री पद जोगाउन अन्तिम विकल्पमा अध्यक्ष पद छाड्न तयार रहेको देखिएको छ ।
नेकपाभित्र पूर्व एमाले समूह आपसी एकता बनाउन सक्रिय छन् । दोस्रो पुस्ताका नेताहरु प्रधानमन्त्री ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमसँग दैनिकजसो भेटघाट गरेर पूर्व एमालेबीच सहमतिको बिन्दु खोज्न सक्रिय भएका छन् । ओली र प्रचण्डबीच सहमतिको सम्भावना निकै कमजोर भएपछि पूर्व एमाले समूह आपसी एकता गरेर पार्टी एकता कायमै राख्ने सुत्र खोज्दैछन् ।
सचिवालय सदस्यहरु इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थानीय समिति सदस्यहरु सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, भानुभक्त ढकाललगायतका नेताहरुको दौडधुप चलि नै रहेको छ । उनीहरु सहमतिको बिन्दु खोज्न लागिपरेका छन् । जसरी भएपनि पूर्व एमालेबीचको एकता कायम गराउन लागिपरेकाहरुले ओलीलाई एक पद छाड्न लगाएर छाडेको पदमा पूर्व एमालेकै कुनै नेतालाई ल्याउनेबारे समेत छलफल गर्दै आएका छन् । ओली पनि एक पद छाड्न सकारात्मक बन्दै गएको बुझिएको छ ।