एसपी रिपोर्टर
सर्लाही, मसिंर १८ : अंशबण्डाको मुद्दामा जिल्ला अदालत सर्लाहीले आफनै निर्णय सच्याउन पहल कदमी लिएको छ । निर्णय गलत भएको निवेदन परेपछि अदालतले भुक्किएर निर्णय भएको भन्दै सच्याउन तयारी थालेको हो । विपक्षीले भने सर्लाहीका प्रदेश सांसद सञ्जय यादवले अदालतलाई प्रभावमा पारेर आरुको अंश लाग्ने जग्गा आफनो नाममा ल्याएको आरोप लगाइरहेका छन् ।
अदालतले गत असोज १३ गते चलन पुर्जी जारी गर्दै बोधार्थमा जिल्ला मालपोत कार्यालयलाई कविलासी नगरपालिका–१० का राजकली देवी यादव, राजनारायण यादव र सञ्जय कुमार यादवका नाममा संयुक्त दाखिला खारेज गर्न आदेश दिएको थियो । पिडित पक्षले निर्णय गलत भएको निवेदन दिएपछि जिल्ला अदालतले मसिंर १२ गते मालपोत कार्यालयलाई दाखिला खारेज दर्ताको चलन पुर्जी अनुसारकोे जग्गा यथास्थितीमा राखि सोको जानकारी अदालतमा पठाउन आदेश गरेको छ ।
सर्लाहीको साविकको सलेमपुर गाविस–५ हालको कविलासी नगरपालिका वडा नं. १० का मुल पुरुष रामगोपाल राय र उनकी श्रीमती फूलकुमारीको नाममा जिउनीका लागि राखिएको ४० विघ्घा जग्गा उनका छोराद्वय माझी राय र रामआश्रेय राय बिच बाँडिएन । अन्य जग्गा भने २०२० भदौ ९ गते नै अंशबण्डा गरियो । जिउनीका लागि राखिएको ४३ वटा कित्ताको ४० विघ्घा जग्गा उनीहरुले संगोलमै भोगचलन गर्दै आए तर २०५५ सालमा राआश्रेयका छोरा गजेन्द्र रायले हजुरबुबा रामगोपाल र हजुरआमा फूलकुमारीका नाममा रहेको जिउनीको जग्गा मध्ये चारभागको एक भाग माग गर्दै अंश मुद्दा दिए ।
२०५६ फागुन २२ गते अदालतले मुल पुरुष रामगोपाल र फुलकुमारीको नाममा रहेको जग्गामा माझी र रामआश्रेयको नाममा दुई भाग पारी माझीका दुई छोरा महेन्द्र राय र उपेन्द्र राय तथा रामआश्रेयका दुई छोरा गजेन्द्र र नवलकिशोर रायलाई पनि दुई–दुई भाग गरि हक पाउने ठहर गर्दै चार मध्ये एक भाग वादी गजेन्द्रको नाममा फैसला गरेको थियो । जसलाई पुनरावेदन अदालत जनकपुरले २०६३ भदौं १९ मा सदर गरेको छ ।
गजेन्द्रले एक भाग पाए पनि बाँकीको तीन भाग नवलकिशोरका श्रीमती र दुई छोरा राजनारायण र सञ्जय कुमारको नाममा अदालतले गत असोज १३ गते चलन पुर्जी जारी गरिदियो । सर्लाही अदालतका स्रेस्तेदार शिवहरी पौडेलले अदालतको त्यो निर्णय झुक्किएर भएको भन्दै तीन जनाको नाममा मालपोतबाट दाखिला खारेज भएको जग्गा रोक्काको निर्णय गरेको जानकारी दिए ।
अंश नपाएका महेन्द्रका छोरा राजकिशोर तथा उपेन्द्रका छोराद्वय अशोक यादव र अजय यादवले जालसाजी गरेर सञ्जय र राजकिशोरले अदालतमा सम्पुर्ण जग्गा आफना नाममा गराएको भन्दै निवेदन दिए । एता प्रदेश सांसद समेत रहेका सञ्जयले जिल्ला तथा पुनरावेदन अदालतले निर्णय गरी भोगअधिकार दिएपछि जग्गा पास भएको बताउछन् ।
कान्तिपुर दैनिकवाट