एसपी रिपोर्टर
महोतरी, मसिंर १७ : मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको रौजा मजार सौन्दर्यीकरण योजनाको शिलान्यास गरिएको छ । आज एक समारोहका बिच जसपा कार्यकारिणी अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्व रक्षा मन्त्री शरदसिंह भण्डारी र मुख्यमन्त्री लालबाबु राउतले रौजा मजार सौन्दर्यीकरण योजनाको संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत शिलान्यास गरिएको उक्त योजनामा ११ करोड ९० लाख रुपैयाको लागत रहेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ । शिलान्यास कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं जसपा अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोहको जगमा बनेको प्रदेश सरकार आन्दोलनको मर्म अनुरुप पहिचानको रक्षाका साथै धार्मिक पर्यटकीय विकासलाई टेवा पुरयाउने उद्देश्यका साथ अगाडि बढाएको रौजा मजार सौन्दर्यीकरण योजना सराहनीय रहेको बताएका छन् ।

प्रदेश सरकारले सिमिति स्रोत साधनका विच गरि रहेको विकास निर्माणका काम हरु सन्तोषजनक रहेपनि अगामी दिनमा विगतका समिक्षा गर्दे शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर अघि बढनु पर्ने उनको कथन थियो । कार्यक्रममा प्रतिनिधीसभा सदस्य एवं पूर्वमन्त्री शरदसिंह भण्डारीले चुनाव ताका आफुहरुले गरेको बाचा अनुसार नै प्रदेश सरकार विकास निर्माणलाई अगाडी बढाएको र अगामी दिनमा समेत यसलाई निरन्तरता दिने उल्लेख गरेका छन् ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २ को विकासको प्रमुख आधारहरु मध्ये महत्वपूर्ण आधार धार्मिक पर्यटन रहेको कुरा आत्मसाथ गर्दै प्रदेश सरकारले धार्मिक पर्यटकीय स्थलहरुको विकासमा जोड दिएको उल्लेख गरेका थिए । उनले प्रदेश २ का प्रमुख धरोहर जानकी मन्दिर बाट शुरु भएको यो अभियान रौजा मजार सम्म पुगेको र अगामी दिनमा ई सबै धार्मिक पर्यटकीय स्थलहरुलाई एउटै मार्गमा जोडने योजनामा प्रदेश सरकार रहेको बताए ।

प्रमुख सचिव अर्जुन प्रसाद पोखरेलको अध्यक्षतामा भएको उक्त शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य जैलुन राइन, सुरिता साह, अभियानका प्रमुख सिडिई भगवान झा, बलवा नगर पालिकाका प्रमुख विनोद यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।
