एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ११ : सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले जनकपुरधाम सुन्दर र सफा हुदै गएको भन्दै सन्तुष्टि व्यक्त गरेका छन् । सुन्दर, सफा र राम्रो जनकपुरधामको संकल्प लिन सवै जनप्रतिनिधि र स्थानीयबासीहरु संग आग्रह गर्दै उनले जनकपुरधाम सुन्दर, सफा र राम्रो नभए जनकपुरधामबासीको पहिचान गुम्ने भएकाले यि तीन संकल्प सहित अगामी रणनीति बनाउनका लागि आग्रह गरेका छन् ।
विहीवार जनकपुरधाम आइ पुगेका मन्त्री श्रेष्ठलाई जनकपुरधाम उप–महानगरपालिकामा आयोजित सम्मान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भने–‘आफुहरु भूमिगत हुदा जनकपुरको अवस्था एकदम्मै दयनीय थियो । त्यतिवेला देखि केहि दिन पहिला सम्म त्यस्तै अवस्था रहेपनि स्थानीय सरकार गठन भएपछि जनकपुरधामको मुहार फेरीएको छ ।’ उनले आज जनकपुरधाममा आएर आफुलाई गर्भ महसुस भई रहेको बताउँदै जनकपुरधामबासी मात्र जनकपुरधामलाई सफा राखे संघ सरकार जनकपुरधामको विकासको लागि तत्पर रहेको बताएका थिए ।

उनले स्थानीय सरकार र संघ सरकार एक अर्कालाई सहयोग गरेर अगामी रणनीति तय गर्नुपर्ने आवश्यक्ता रहेको औल्याएका थिए । जनकपुरधामको विकास निर्माण देखेर प्रसंन्न भएका मन्त्री श्रेष्ठले अगामी दिनमा जनकपुरधामको पोखरीको सौन्दर्यीकरण र सरसफाईमा पनि संघ सरकार उत्सुकता देखाउने बताएका थिए ।
सो अवसरमा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले आइयुडिपीको कार्य सम्पन्न भएको र सो कार्यक्रम जनकपुरधाममा निरन्तरताको लागि मन्त्री श्रेष्ठ संग आग्रह गरेका थिए । उनले आयोजनाको ३१.५ किलोमिटर नाला र फुटपाथ सहित १२ किलोमिटर सडक कालोपत्रे भई सकेको जानकारी दिएका थिए । त्यस्तै नाला निर्माण भएको जम्मा ३१.५ किलोमिटर सडक मध्यये १२ किलोमिटर एकीकृत सहरी विकास आयोजनावाट र बाँकी रहेको थप सडकहरु सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय धनुषावाट १६.५ किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिएका थिए ।

उनले आइयुडिपीको आयोजना रहेको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र सिद्धार्थनगरमा कार्यसम्पन्न पश्चात थप निर्माण कार्यकोलागि रिजनल अरवन डेभलपमेन्ट प्रोजेक्ट लागु भएको तर जनकपुरधाममा लागु नभएकोले सो आयोजना लागु गरिदिनकालागि आग्रह गरेका थिए । त्यस्तै बस पार्क निर्माण, जलाद नदी कोरिडोर निर्माण, बजेटको अभावमा कार्य शुरु हुन नसकेको प्रोजेक्टहरु संचालन, ९ वटा ग्रामीण वडाहरुमा कम्तिमा एक÷एक पोखरीको सौन्दर्यीकरण, ग्रामीण सडकहरुको निर्माण, नालानिर्माण भई बाँकी रहेको तीन किलोमिटर सडक कालोपत्रे, नयाँ कार्यालय भवन निर्माणकालागि थप बजेट, तेलहा मरहा पोखरीको सौन्दर्यीकरण कार्यकोलागि विभागवाट बोलपत्र आह्वान भई हाल सम्म कार्य शुरु हुन नसकेको,२५ किलोमिटरमा नाला र सडक कालोपत्रे हुन बाँकी रहेकोले यो कार्यहरु गरिदिनकालागि मन्त्री श्रेष्ठ संग आग्रह गरेका थिए ।
प्रदेश सरकार संग मन्त्री श्रेष्ठको भेटघाट
संघीय सरकारका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र मुख्यमन्त्री लालबाबु राउत बीच भेटघाट भएको छ । संघीय सरकार शहरी विकास मन्त्रालयबाट प्रदेश नं. २ मा जारी विकास निर्माणका कार्यहरुको स्थलगत निरीक्षणको लागि प्रदेश २ को भ्रमणमा रहनु भएका मन्त्री श्रेष्ठ र मुख्यमन्त्री राउत बीच आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेटघाट सम्पन्न भएको हो ।

भेटको क्रममा मुख्यमन्त्री राउतले विकास निर्माणको कार्यमा एकरुपता ल्याउन तीनै तहका सरकार बीच समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिए । उनले भने, ‘विकास निर्माणको काम हामीले गर्ने भनेको यहाँको जनताकै लागी हो, तसर्थ तीनै तहका सरकार बीच समन्वय गरेर अघि बढनु पर्दछ ।’ मुख्यमन्त्री राउतले धार्मिक पर्यटकीय विकासका साथै जनकपुरधामको लागी ल्याडफिल साइट निर्माणमा सहयोग गर्न संघीय मन्त्री श्रेष्ठलाई आग्रह समेत गरे ।

छलफलको क्रममा संघीय शहरी विकास मन्त्री श्रेष्ठले प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटेको सप्तरी देखी पर्सा सम्मको धार्मिक पर्यटकीय करिडोर निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउदै आफनो मन्त्रालयबाट प्रदेशमा हुने सम्पूर्ण विकास निर्माणको कार्यमा प्रदेश सरकार संग समन्वय गरेरै अघि बढने बताए । भेटघाटको क्रममा शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले प्रदेश नं. २ मा शहरी विकास मन्त्रालयद्वारा जारी विकास निर्माणको कामहरु बारे जानकारी गराएका थिए ।
भेटमा बन, उद्योग, पर्यटन तथा संस्कृति मन्त्री राम नरेश राय, जनता समाजवादी पार्टीका सचेतकद्वय शैलेन्द्र कुमार यादव, परमेश्वर साह, प्रमुख सचिव लगायत विभिन्न मन्त्रालयका सचिवहरु, शहरी विकास मन्त्रालयका पदाधिकारीहरु सहितको सहभागिता रहेको थियो ।