एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ४ : श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठको दोस्रो दिन । आज ‘खरना’ विधि समपन्न भएको छ । कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधि र पुजापाठ गरेका छन् ।
चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गरेका छन् । यसअघि आइतबार नै ब्रतालुले पर्वको पहिलो दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन् ।

पर्वको तेस्रो दिन सूर्य उपाशनाको निराहार ब्रत बसेर ब्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिला क्षेत्रमा ‘सझुका अर्घ’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने चलन छ । यसलाई मिथिलामा ‘भोरका अर्घ’ भनिन्छ । छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त नातेदारकहाँ पु¥याउन जाने मैथिल परम्परा छ ।

पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ । केही वर्ष पहिलेसम्म मधेसीमूलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वतेमूलका हिन्दू र इस्लाम धर्मावलम्बीहरुले समेत धुमधामसँग मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको मिथिला क्षेत्रका बुद्घिजीवीहरु बताउँछन् ।

आजै देखि मिथिलामा दाजुभाईको सुस्वास्थ्य र दिर्घायुका लागि दिदीवहिनीले मनाउने सामा चकेवा पर्व समेत विधिवत प्रारम्भ हुने छ ।