एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २७ : कोरोनाकाल पछि जनकपुरधाममा बल्ल खलकुदको माहोल बन्ने भएको छ । आउंदो मंसिर ८ गतेदेखि जनकपुरधाममा टि २० चैम्पियनशिप क्रिकेट टुर्नामेन्ट आयोजना हुने भएको छ । अन्य क्षेत्र जस्तै खेल जगत समेत कोरोना संक्रमणका कारण प्रभावित भईरहेको अवस्थामा यो क्रिकेट टुर्नामेन्टको आयोजनाले फेरी खेलको माहौल निर्माण हुने विश्वास आयोजकको छ ।
हरिज स्पोर्ट्स जोनको आयोजनामा हुन लागेको सो क्रिकेट टुर्नामेन्टमा धनुषा, महोत्तरी र सीमावर्ती क्षेत्र सहितका कम्तीमा १६ वटा टिमलाई सहभागी गराउने लक्ष्य राखिएको सोमवार पत्रकार सम्मेलनमा गरी जिल्ला क्रिकेट संघका शोेभाकान्त पाण्डेले जानकारी दिएका छन ।
पाण्डेका अनुसार नक आउट चरणमा हुने यो प्रतियोगिता दुई सातासम्म चल्ने छ । यस अघि वृहत रुपमा शहीद कप प्रतियोगिताको आयोजना हुदै आएको भएपनि कोरोना संक्रमणको त्रासका कारण स्थानीय स्तरका टिमहरुलाई सहभागित गराएर खेल प्रतियोगिताहरुको माहौल बनाउन लागिएको बताइएको छ ।
आयोजक टिमका भावेष मिश्रले भने, ‘स्थानीय क्लवहरुलाई शामिल गरेर यो आयोजना गर्न लागेका छौं, जनकपुर टि २० चैम्पियनशिप सम्पन्न भए लगत्तै फागुन चैत महिनामा शहिद दिपक मेमोरियल क्रिकेट टुर्नामेन्ट वृहत स्तरको प्रतियोगिताको आयोजना गर्ने छौं ।’
प्रतियोगितामा पहिलो हुने टिमलाई ५० हजार, दोस्रो हुने टिमलाई २५ हजार सहित मैन अफ द टुर्नामेन्ट हुने खेलाडीलाई ५ हजार, उत्कृष्ट ब्याटस म्यान र बलरलाई २५ सय तथा म्यान अफ द म्याचलाई ५ सय राशीको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । आयोजक टिममा ई.प्रेम चन्द्र राय संयोजक तथा आशिष झा, रुपेश सिंह मुन्ना, हिरेन्द्र अधिकारी, जितेन्द्र मल्लिक, अशोक यादव सदस्य छन भने भावेष मिश्र सदस्य सचिव । सल्लाहकारमा नविन सिंह, शोभाकान्त पाण्डे तथा आकाश पाण्डे छन् ।