एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १७ : धनुषाको शहिदनगर नगरपालिकामा आयोजित वडा कार्यालय तथा स्वास्थ्य चौकी समुदघाटन तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेताहरुले पार्टी एकता देखिएको बिबाद दुःखद रहेको बताएका छन् । जनताले पार्टी एकताकै लागि जनादेश दिएको भन्दै उनीहरुले शिर्षनेताहरुले बुझन नसकेकोमा दुःख व्यक्त गरेका छन् ।
समारोहमा बोल्दै नेकपाका केन्द्रिय सदस्य श्रवण यादव बरबरियाले पार्टी एकता संकटमा पर्नु दुःखद भएको बताए । उनले भने, ‘हामीले पार्टी एकता नचाहेको बेला पार्टी एकता भयो, अब पार्टी एकता दिर्घकालिन चाहन्छौं, तर सोचे जस्तो परिस्थिति छैन् ।’ उनले समाजमा शिक्षा, स्वास्थ्य, सिंचाई, सडक जस्ता भौतिक तथा बौद्धिक पूर्वाधारले समाजको बिकासमा अथक योगदान पु¥याउने बताए । उनले भने, ‘समाजको बिकास भए, गाउँ र नगर हुँदै देशको बिकास हुने भएकोले गाउँ र टोल स्तरबाट बिकासको मुल फुटाउन आवश्यक छ ।’

नेता एवं समाजसेवी गंगाराम यादवले पनि पार्टी एकतामा जोड दिए । उनले शिक्षाको स्तर उकास्न सके मात्र धनुषा सहित देशकै ग्रामिण भेगको उज्जवल अविष्य हुन सक्ने बताए । यादवले भने, ‘शिक्षालाई सवैले बुझनु पर्छ, यो नै अति आवयश्क छ ।’ देशको नेतृत्व गरिरहेको पार्टीमा पटक पटक बिबादको कुराले जनता निराश हुने उनले बताए ।

हरवाडामा स्वास्थ्य चौकी र वडा कार्यालयको उद्घाटन गर्दै शहिदनगर नगरपालिकाका मेयर उदय कुमार यादव बररियाले लामो समयदेखि स्थानीय तह जनप्रतिनिधि बिहिन रहेको अवस्थामा लथालिङ्ग अवस्थावाट उठाउन समय लाग्ने गरेको बताए । उनले भने, ‘नगरको प्रत्येक वडा–वडा र टोल–टोलमा बिकासको मुल फुटिसकेको छ, बिकास यत्रतत्र सर्वत्र जारी छ, तर यतिले मात्र पुग्दैन, समृद्ध नगरका लागि आवश्यक सबै पहल कदमी लिएका छौं, संघीय सरकारबाट चाहिएको आवश्यक सहयोग लिई समृद्धिको दिशामा अघि बढदैछौं ।’

कार्यक्रममा नेकपा धनुषाका अध्यक्ष राजकिशोर यादवले पनि पार्टी एकताको सट्टा बिबादको समाचार जनता र कार्यक्रता दुवैलाई निराश गर्ने तर्फ सचेत गराएका छन् । जनतालाई छिटो सेवा प्रवाहका निमित्त शहिदनगर नगरपालिकाको हरवाडामा स्वास्थ्य चौकी र वडा कार्यालयको समुद्घाटन गरिएको छ । धनुषाको शहिदनगर नगरपालिका ६ हरवाडामा एक्कैपटक स्वास्थ्य चौकी र वडा कार्यालयको समुद्घाटन गरिएपछि स्थानियवासी खुसी भएका छन् । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सहित नेकपाका नेता कार्यक्रताहरु सहितको उपस्थिती थियो ।
