एजेन्सी
कात्तिक १३ : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले कम्तिमा नोभेम्बरको अन्त्यसम्मका लागि दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेका छन् । शुक्रबारबाट शुरु हुने नयाँ लकडाउनमा मानिसहरु अत्यावश्यक काम र स्वास्थ्य सम्बन्धि कामका लागि मात्र घर छाडेर निस्कन पाउनेछन् । लकडाउनका दौरान रेस्टुरेन्ट र बार बन्द रहनेछन् भने स्कूल र फ्याक्ट्री भने खुला रहनेछन् । फ्रान्समा कोभिड–१९ का कारण दैनिक हुने मृत्युको संख्या गत अप्रिल यता कै उच्च रहेको छ । मंगलबार मात्र देशमा थप ३३ हजार जनामा संक्रमण पुष्टि भएको थियो ।
म्याक्रोँले संक्रमणको दोस्रो लहरले देशलाई पहिलो लहरलेभन्दा बढी प्रभावित गर्ने जोखिम रहेको औँल्याए । टेलिभिजनबाट राष्ट्रलाई सम्बोधन गर्दै उनले महामारीको फैलावटलाई रोक्न निर्मम भएर ब्रेक लगाउनुपर्ने आवश्यकता रहेको जिकिर गरे । उनले फ्रान्सका अस्पतालका आधाभन्दा बढी आईसीयूमा कोभिडका बिरामी रहेको पनि जानकारी दिए ।

मेलबर्नमा १११ दिनको लकडाउन हटदा खुसी
अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि बुधबार अन्त्य गरिएको छ । यो लकडाउन अन्य ठाउँमा लगाइएको भन्दा लामो भएको अधिकारीहरुले बताएका छन् । लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दाले राहत र सहजता महसुस गरेको समाचारमा जनाइएको छ । ‘कठिन यात्रा सकिएको छ, धेरै लामो समय बिताउन जस्तो गाह्रो भएको थियो,’ स्थानीय एक बासिन्दाले भने ।
भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै यस क्षेत्रका व्यापारिक प्रतिष्ठानहरु खुल्ला भएका छन् । उनीहरुले कारोबार गर्न थालेका छन् भने कामदारहरुले काम गर्न पाएका छन् । लकडाउन खुल्ला गरिए पनि सडकमा भिडभाड नगर्न, मास्क नलगाइ नहिँड्न भनिएको छ । त्यसैगरी घरदेखि २५ किलोमिटर टाढा हिँड्न पनि नपाइने व्यवस्था गरिएको छ ।
सरकारी अधिकारीहरुले सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन् । भिक्टोरिया अष्ट्रेलियामा कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको केन्द्र बनेको थियो । कोरोना भाइरसको संक्रमण फैलिएसँगै जुलाई ९ देखि दोस्रोपटक लकडाउन गरिएको थियो । लकडाउनविरुद्ध प्रदर्शनसमेत भएको थियो । संक्रमण दर घटेसँगै लकडाउन खुकुलो बनाउँदै लगिएको थियो ।