कात्तिक १० : राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले बडादशैं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड–१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैं मनाउन आग्रह गरेकी हुन् ।
‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ,’ शुभकामना सन्देशमा भनिएको छ । विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमंग, जोश र जाँगर थप्ने विश्वासका साथ राष्ट्रपति भण्डारीले उत्तरोत्तर प्रगतिको कामना गर्दै मंगलमय शुभकामना व्यक्त गरेकी छन् । यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सदभाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास राष्ट्रपतिको छ ।
विजयादशमीका दिन भगवतीले सत्य हासिल गरेका उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशीर्वाद ग्रहण गरिन्छ । असत्यमाथि सत्य तथा अन्यायमाथि न्याय र अमानवीय तत्वमाथि मानवताको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वमा घटस्थापनादेखि नवमीसम्म माता नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी विशेष अर्चना र आराधना गरिन्छ ।
उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ्ग) ले महान चाड बडादशैंलाई कोरोना भाइरस संक्रमण थप फैलने माध्यम बन्न नदिन र मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अपील गरेका छन् । विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोरोना महामारीका कारण यस वर्षको दशैं विगत वर्षको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था नरहेको उल्लेख गरेका छन् ।
उपराष्ट्रपति पुनले जो जहाँ छ त्यही अवस्थामा घरमै बसेर दशैं मनाउने विश्वास व्यक्त गरेका छन् । देशमा कोरोनाको संक्रमण र मृत्युदर दुवै निरन्तर बढिरहेको र आगामी दिनमा संक्रमण अझै बढ्ने सम्भावनाले आफूलाई अत्यन्त चिन्तित बनाएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले चाडपर्व तथा अन्य समयमा स्वास्थ्य सुरक्षाको नियम पालना गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा विशेष आग्रह गरेका छन् ।
दशैंका बेलामा पनि कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा सबैमा सम्मान व्यक्त गर्दै उनले पर्वका समयमा अस्पतालको शय्या तथा आइसोलेशनमा रहेका संक्रमित छिट्टै कोरोनामुक्त हुने र उनीहरुको आगामी दशैँ उल्लासमय हुने अपेक्षा गरेका छन् ।
कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि तीनै तहका सरकारले निरन्तर प्रयास गरिरहे तापनि स्वास्थ्य अवस्था गम्भीर बनेका कतिपय संक्रमितले उपचार अभाव भोग्नुपरिरहेको खबर आउनु दुःखद् भएको उल्लेख गर्दै उपराष्ट्रपतिले कोरोनाका कारण स्वास्थ्य अवस्था जटिल भएकाको उचित उपचारको प्रबन्ध गर्न तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सबै तहका सरकारको ध्यानाकर्षण गराएका छन् । उनले तीनै तहका सरकार र आमनागरिकको प्रयासले कोरोना भाइरस नियन्त्रणमा आउने र आगामी चाडपर्व विगत वर्षमा जस्तै उल्लासमय वातावरणमा मनाउन पाउने अवस्थाको अपेक्षासमेत गरेका छन् ।
प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले महान चाड बडादशैंका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन आह्वान गरेका छन् । औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइन भन्दै प्रधानमन्त्री ओलीले यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वलाई मितव्ययी बनाउन उनको आह्वान छ ।
अहिले कोरोना महामारीको विषम परिस्थितिमा चाडलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्न सुझाव दिएका छन् । ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा संक्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउन उनले सबैमा आग्रह गरेका छन् । यसपालिको बडादशैं, हामी जो जहाँजहाँ छौं, त्यहीँत्यहीँ रहेर मनाउन प्रधानमन्त्री ओलीले सबैसँग अनुरोध गरेका छन् ।
संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखी प्रधानमन्त्री निवासमा हुने ‘बडादशैंको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन दिइएको पनि उनले जानकारी दिएका छन् ।
नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै दशैंलगायतका चाडपर्व मनाउन सबैमा अपिल गरेका छन् । दशैं, तिहार, छठ, नेपाल संवतलगायत चाडपर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गरेका हुन् ।
कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेधच छन् । नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भ्रातृत्व र भावनात्मक एकता पैदा गर्ने उल्लेख गर्दै उनले यिनै चाडपर्वले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पु¥याएको बताएका छन् ।
कांग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अपील गरेका छन् । विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै देउवाले पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन् ।
कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न पनि सुझाव दिएका छन् । सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको र बनाउनुपर्ने उल्लेख गरेका छन् । विजयादशमीका अवसरमा सभापति देउवाले आफू र नेपाली कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
अनलाइन खवरवाट