एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ९ : आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज (आइतबार) हर्षोल्लासका साथ नव दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । नवौं दिन भगवती माता सिद्धिदात्री देवीको पुजा आराधना गरिँदै छ ।
कमल फूलमा विराजित, सिंहवाहिनी देवी (सिद्धिदायिनी), सबै प्रकारको सिद्धि प्रदान गर्ने, शङ्ख चक्र गदा र कमल–पुष्पले युक्त चारभुजा हुनुभएकी, सिद्ध गन्धर्व यक्ष आदि र सुर–असुरहरूद्वारा सेवित भएकी देवी सिद्धीदात्री हुन् । मार्कण्डेय पुराणअनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व आठ सिद्धिहरू छन् । ब्रहृमवैवत्र्त पुराणले १८ किसिमको सिद्धिलाई उल्लेख गरेको छ ।
सिद्धगन्धर्वाद्यै– रसुरैरमरैरपि ।
सेव्यमाना सदा भूयात् सिद्धिदा सिद्धिदायिनी ।।
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।
यसैबीच, हनुमानढोका दरबारमा रहेको वर्षमा एक पटक महानवमीका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर यो वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण नखोलिने भएको छ । वर्षमा एक दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर हरेक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ । तराई मधेशमा आज पनी बोकाबली प्रदान गर्नुका साथै मेला उत्सवको आयोजना गरिन्छ । तर कोरोना कहरका कारण यसपालि भने मेला उत्सवमा प्रभाव परेको छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।नौ दिनसम्म पूजाराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।