एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ८ : आज बडादशैंको आठौं दिन, भगवती माता महागौरी देवीको पुजा आराधना गरि विजयादशमी मनाइदै छ । श्वेत–वृषवाहनमा सवार भएकी, श्वेत वस्त्र एवं आभूषण पहिरिएकी, चार हात भएकी, अभय र वरद मुद्रा एवं डमरु र त्रिशूल धारण गरेकी देवीलाई महागौरीको स्वरूपमा पूजा गर्ने गरिएको छ ।
यी देवीलाई नवरात्रको आठौं दिनमा पूजा गरिन्छ । सम्पूर्ण कलुषता धुनको लागि, पूर्व–सञ्चित पापबाट मुक्त हुनको लागि श्रद्धालुहरूले यी देवीको आराधना गर्ने गर्छन् । यी देवीको आराधनाले अलौकिक सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ ।
श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान् महादेवप्रमोददा ।।
तराई मधेशको शक्तिपिठ तथा देवी मन्दिरहरुमा आज देखि बोकाबली समेत प्रदान गर्ने कार्य प्रारम्भ हुन्छ । जनकपुरधामको मुख्य शक्तिपिठ माता राजदेवी मन्दिरमा आज साँझ देखि बोकाबली प्रदान हुने परम्परा छ भने अन्य शक्तिपिठमा अष्ठमीको विहानै देखि पनि बोकाबली प्रारम्भ हुन्छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।नौ दिनसम्म पूजाराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।