एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ७ : दशैको सातौ दिन आज दुर्गाभवानीको सातौ रुप भगवती माता कालरात्री देवीको पुजा आराधना गरी मनाइदै छ । चार हात भएकी र अत्यन्त डरलाग्दो स्वरूपमा देखिने देवी हुन् कालरात्रि । अरू सबै देवीको पूजा दिउँसो हुन्छ भने यी देवीको पूजा रातिमा हुने गर्छ । श्याम वर्ण र भयंकर स्वरूप भए पनि सधैं शुभ फल दिने देवीको रूपमा कालरात्रिलाई लिने गरिन्छ ।
दुर्गासप्तशतीका अनुसार यी देवीको नाकबाट आगोको भयंकर ज्वाला निस्कने गर्छ । यी देवीको तीनवटा आँखा हुन्छ भने शरीर अर्धनग्न अवस्थामा देखिन्छ । यी देवीको बाहन गधा हो । यस दिन साधकको मन ‘सहस्रार’ चक्रमा स्थित हुन्छ र उसको लागि ब्रह्माण्डका समस्त सिद्धिहरूको द्वार खुल्न थाल्छ भन्ने मान्यता छ ।
एकवेणी जपाकर्ण– पूरा नग्ना खरास्थिता ।
लम्बोष्ठी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी ।।
वामपादोल्लसल्लोह लता कण्टकभूषणा ।
वर्धनमूध्र्वजा कृष्णा कालरात्रिर्भयंकरी ।।
घटस्थापनाको दिनदेखि नै दशैं सुरु भएको भए पनि मुख्य दिन फूलपातीदेखि दशैं सुरु हुन्छ । नवरात्रीको सातौ दिन, आज घरघरमा फूलपाती भित्राइन्छ । हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइदैछ ।

मधेशमा भने यस विधिलाई बेलतोरी भनिन्छ । जनकपुरधाममा पनि बेलतोरी बिधी तामझामका साथ मनाइन्छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपाली सेनाको टुकडी बाजागाजा सहित बेलतोरीमा सरिक भयोे । धनुषाका प्रमुख जिल्ला अधिकारी सहितका प्रशासनिक निकायका प्रमुखहरु समेत सो विधिका क्रममा सहभागिता जनाउने गरेका छन् । नेपाली सेनाले सो अवसरमा सलामी समेत चढाउने गरेको परम्परा यस वर्ष समेत निरन्तरता पाएको छ ।
बेलतोरी बिधीमा हिजो षष्ठीका दिन निम्तो दिएको बेल तोडेर शक्तिपिठ तथा पण्डालमा स्थापित गर्ने गरिन्छ । बेलतोरीका क्रममा जनकपुरधामका मेयर लालकिशोर समेत सहभागि भए । कोरोना कहरका कारण यस वर्ष घटस्थापना देखि सप्तमी सम्म नै प्रसाद तथा खोइच भर्न सकिने सुचना सम्प्रेशित भएसंगै आज सप्तमीकै दिन प्रसाद चढाउने र खोइच भर्ने श्रद्धालुहरुको भिडभाड लागेको छ । प्रसाद चढाउने र खोइच भर्ने महिलाहरुको लामो लाइन लागेको छ ।

कोरोना कहरले समेत जनकपुरधाम सहित तराई मधेशवासीको आस्था डगमगाएको देखिदैन । शहर बजारमा केहि सर्तकता अपनाएको देखिएपनि ग्रामिण क्षेत्रमा त निर्वाध रुपमा यस अघिकै वर्ष जस्तै हर्षोल्लास र तामझामका साथ नै विजयादशमी मनाइदै छ ।

माता राजेदवीको भब्य श्रृंगार
आज वडा दशैंको सातौ दिन देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याउनुका साथै जनकपुरधामको माता राजदेवीमा मन्दिरमा देवी माताको भव्य श्रृंगार कार्यक्रम भएको छ । राजा जनककी कूलदेवी मानिएको शक्तिपीठ माता राजदेवी मन्दिरमा साँझ भव्य श्रृंगार विधीको आयोजना गरिएको आयोजक महावीर युवा कमिटिका अध्यक्ष सँतोष कुमार साहले जानकारी दिए ।
नवरात्रिको सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दशौं दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरूको महत्व अधिक रहेको पाइन्छ । भब्य श्रृंगार बिधी साँझ ५ बजेदेखि नै सुरु भएको जनाइएको छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।नौ दिनसम्म पूजाराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।