एसपी रिपोर्टर
जनकपुरधाम, असोज २१ : स्वास्थ्य सेवा क्षेत्रको सुधारको मांग गर्दै पटक पटक गरि पछिल्लो पटक करिव तिन साता देखि सत्याग्रहमा रहेको डा. गोविन्द केसीको समर्थन र उनको जिवनरक्षाको माग गर्दै जनकपुरधाममा समेत प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनरत डा.केसीको जीवन रक्षाका माग गर्दै स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । २४ दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको भन्दै स्थानीय युवाहरूले बुधबार जनकपुरको रामानन्द चौकमा प्रदर्शन गरेका हुन् ।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान अन्तर्गतको कोभिड क्विक रेस्पोन्स टीम तथा स्थानीय युवाहरूको आयोजनामा भएको प्रदर्शनका सहभागीहरूले तत्काल वार्ता गरेर डा.केसीको जायज मागहरू पूरा गरि उनको जिवन रक्षा गर्न सरकारसँग माग गरेका छन् । ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी सबै डा.केसीको साथमा’ नारासहित प्रदर्शन गरेका युवाहरूले स्वास्थ्य शिक्षा सुधार जस्तो महत्वपूर्ण माग राखेर अनशनमा रहेका डा. केसीसँग संवादसमेत नगर्ने सरकार तानाशाही रहेको आरोप लगाएका छन् ।

आम नागरिकको हितलाई ध्यानमा राखेर अनशनमा रहेका डा.केसीको माग सम्बोधन गर्न तर्फ सरकारले चासो नदेखाएपछि युवाहरूले प्रदर्शन गरेको तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साहको तर्क छ । सरकारले तत्काल वार्ता गरेर केसीले उठाएको माग सम्बोधन नगरे आफूहरू सशक्त आन्दोलनमा उत्रन बाध्य हुने साहले चेतावनी दिएका छन् । डा. केसीको माग सम्बोधन नगरेर सरकारले दम्भ देखाएकोले दवाव स्वरुप प्रदर्शन गरेको युवा चन्दन रायले बताए । प्रदर्शनमा टिमका संयोजक मनोज साह सदस्य जिवनाथ चौधरी, सम्झना वर्मा, सरोज मिश्र, दीपक ठाकुर, बलराम साह, किसन साह, कयुम राइन लगायत दर्जनौं युवाहरूको सहभागिता रहेको थियो ।
