एसपी रिपोर्टर
बुटवल, असोज १९ : प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको छ । कांग्रेसका सांसदहरुको होहल्लाका बिच सुरु भएको संसद बैठक कुर्सी र टेवल तोडफोड हुँदा समेत रोकिएन । विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभा भित्र टेबुल र कुर्सुी तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची रहेकोमा मंगलवार पुन १२ बजे बैठक बोलाइएको छ ।
तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए । सभामुख पूर्णबहादुर घर्तीमगर तोडफोड भइरहँदा मुखदर्शक बने र बैठक अघि बढाइ रहे ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल मुख्यमन्त्रीवाट वाहिरने तय रहेकाले उनी आफनै कार्यकालमा प्रदेशको नाम र स्थाई राजधानी टुङ्गो लगाउने तयारी स्वरुप फास्ट्रयाकमा अगाडि बढेको बताइन्छ । नेकपामा भएको सहमती अनुसार पोखरेललाई मुख्यमन्त्रीवाट हटाएर पार्टीको जिम्मेवारी र संघिय मन्त्री बनाउने तयारी प्रधानमन्त्रीको छ ।
कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन आग्रह गरेको थियो। सो प्रस्तावमा नेकपाले असहमति जनाएपछि काँग्रेस रुष्ट बनेको हो ।