संजय साह
जनकपुरधाम, असोज ३ : असोज ३ मा जनकपुरधामको चौकै पिछे फरक फरक दृश्य देखिएको छ । कतै कालो दिनका रुपमा विरोध जुलुस मनाइदै छ भने कतै संविधान दिवसको अवसरमा रमाइलो गरिदैछ । नयाँ संविधान मधेस विरोधी भएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले प्रत्येक वर्ष जस्तै आज पनि असोज ३ लाई कालो दिन भन्दै जनकपुरमा विरोध प्रदर्शन गरेको छ । जनकचोकबाट सयौंको संख्यामा पार्टीका नेता तथा कार्यकर्ताले विरोध जुलुसमा सहभागिता जनाए । जुलुसमा प्रदेश २ भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल, जसपाका संघीय साँसद उमाशंकर अरगरिया, प्रदेश साँसद रामअशिष यादब, प्रमेश्वर साह लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।
प्रदर्शनकारीहरुले केपी ओली चाहिदैन, मधेस विरोधी संविधान स्वीकार्न सकिदैन, संविधान संशोधन गर जस्ता नारा लगाएका छन् । विरोध ¥याली जनकपुरको विभिन्न भागको परिक्रमा पश्चात पुनः जनकचोकमै पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पार्टीका नेताहरु संविधान संसोधन गरेर भएका गल्तीहरु नसच्चयाए स्वीकार्न नसकिने बताए ।
नेपाली काँग्रेस, तत्कालिन नेकपा एमाले र माओवादीले बहुमतको दम्भ देखाएर ०७२ असोज ३ मा मधेस विरोधी संविधान जारी गरेको विरोधमा असोज ३ लाई मधेशी दलले कालो दिवसको रुपमा मनाउदै आएको छ । राजपा र समाजवादी पार्टी एक भएपछि कालो दिवसमा विरोधको स्वर बुलन्द भएको छ । सोही वर्षदेखि मधेसी दल तथा जनता असोज ३ लाई कालो दिनको रुपमा मनाउदै आएको छ । मधेसभर आज साँझ बल्याक आउट गरिने जसपाले जनाएको छ ।
सरिता गिरी समेत सडकमा
एता जनता समाजवादी पार्टीवाट निकालिएकी पुर्व सांसद सरिता गिरी समेत सडकमा ओर्लिएकी छन् । आफनो बेग्लै समुह बनाएर असोज ३ लाई कालो दिन भन्दै जनकपुरधाममा विरोधमा उत्रिएकी उनी मधेशका हरेक नागरिकलाई वंशज नागरिता दिनु पर्ने बताइन् । गिरीले संविधान विभेद पुर्ण रहेको भन्दै स्वीकार्य नहुने र समाप्त हुने चेतावनी दिइन । सुगौली सन्धी सहितको उदाहरणहरु दिदै गिरीले मधेशी उपरको विभेद कुनै पनि दस्तावेजले स्वीकार नगर्ने बताइन ।
एता दलितहरुको हकहितमा काम गर्ने संघ संस्थाहरु समेत संविधानको विरोधमा विरोध प्रदर्शन गरेको छ । त्यसै गरि विमल प्रसाद यादवको नेतृत्वमा विभिन्न आधा दर्जन संघ संंस्था र पार्टीहरुको सहभागितामा समेत संविधानको विरोध गर्दै विरोध प्रदर्शन गरिएको छ ।