एसपी रिपोर्टर
जनकपुरधाम, असोज १ : धनुषाको धनौजी गाउँपालिकामा विहिबार पुनः तालाबन्दी गरिएको छ । विगतमा पनि कैयौं पटक तालाबन्दी हुँदै आएको गाउँपालिकामा विहिबार पुनः तालाबन्दी गरिएको हो । केही दिनपछि नै जहिले पनि प्रमुख प्रशासकीय अधिकृत फेरबदल गरेको भन्दै स्थानीयहरुले तालाबन्दी गरेका छन् । स्थानीय अगुवाहरुले हरेक ५÷६ महिनामा अधिकृत फेरीएको भन्दै त्यसको विरोध स्वरुप तालाबन्दी गरेको नेकपाका नेता राजकुमार यादवले बताए ।
निवर्तमान प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुरले चालु आर्थिक वर्षको बजेट नल्याउदै तथा कोरोना सम्बन्धी खर्चहरु समेत सार्वजनिक नगर्दै उनको सरुवा भएको जस्ले असमञ्जसता उत्पन्न भएको स्थानियको आरोप छ । यसरी हाकिम फेरबदलको विरोध जनाउँदै गाउँपालिकाको कार्यालयमा तालबन्दी गरिएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष रामबती देवी मण्डलको नेतृत्वमा वडा नं. १ का वडा अध्यक्ष श्याम साह ,वडा नं. ३ का रामदुलार मण्डल र वडा नं. ५ का वडा अध्यक्ष कमल नारायण पँकज सहित एक दर्जन बढीको समूहमा गएका पदाधिकारीहरुले तालाबन्दी गरेको हो । ३ वर्षको अन्तरालमै सो गाउँपालिकामा ४ जना अधिकृत फेरबदल भएको आरोप स्थानियको छ ।