एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३१ : श्री श्री १०८ बाबा विश्वकर्मा पुजनोत्सवको अवसरमा पुजाको पूर्व सन्ध्यामा माँ जानकी जनकपुरधाम यातायात प्रा.लि.ले बुधवार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । यातायातका अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा भएको सो रक्तदान कार्यक्रममा एकजना महिला तथा ४० जना पुरुषले रक्तदान गरेका छन् । कोरोना रोगबाट बच्न र बचाउनका लागि सरकारले लगाएको लकडाउन अवधिमा रक्तदान लगायतका कार्यक्रम स्थगित भएपछि नेपाल रेडक्रस लगायतको संस्थामा रक्त अभाव देखिएको पीडितको गुनासो आउन थालेको छ ।
रक्तको अभावमा कसैको ज्यान नजाओस् मध्यनजर गरी रक्तदान कार्यक्रम राखिएको यातायात प्रा.लि.का अध्यक्ष चौधरी बताएका छन् । रक्तदान कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले कोरोना जस्ता महामारीको बेलामा रक्तदान भन्दा ठूलो कुनै पनि पुण्य नहुने जिकिर गरेका छन् । उनले भने, ‘बाबा विश्वकर्माको पूजा पश्चात् कोरोना जस्ता महामारी रोगबाट नेपाल लगायतका देश मुक्त हुने प्रार्थना गर्दछौं ।’

कोरोनाको कारण आर्थिक रुपमा सबै क्षेत्र प्रभावित भएको छ । तर प्रभावित हुनु र रक्तको अभावमा ज्यान गुमाउनु अलग विषय हो । रक्तदान गरेर हामी मानवलाई मावनता सिखाउनुका साथै जीवन दान पनि गर्दछौं मेयर साहले भने ।

रक्तदान कार्यक्रममा उपमेयर रिता कुमारी मिश्र, जनकपुरधाम उपमहानगरपालिका ७ का वडा अध्यक्ष जानकी राम साह, रामजानकी युवा क्लवका अध्यक्ष संजय कुमार साह, जसपका नेता प्रमोद कुमार यादव, गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ, ट्राफिक इन्स्पेक्टर परर्शुराम घिमिरे सहितका व्यक्तिहरुले आफ्ना विचार राखेका थिए । त्यस्तै रक्तदान गर्नेहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।
