एसपी रिपोर्टर
सप्तरी, भदौ २३ : सप्तरीको राजविराजको एक स्टोरबाट समान चोरी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । राजविराज स्थित रहेको गणेश स्टोरबाट नगद सहित करिब साढे पाँच लाख मूल्य बराबरको सामान चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरी मँगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् ।
उनीहरुले गणेश स्टोरबाट चोरी गरेपछि उजुरीको आधारमा प्रहरीले सिसीटिभी क्यामेराको फुटेजका आधारमा अनुसन्धान गर्दा राजविराज नगरपालिका–६ का सैनी भनिने सनिया मण्डल, उनकी दिदी राजविराज–४ की ज्योतिकुमारी मण्डल सहनी, सोही ठाउँका समिम अन्सारी र सप्तरीको रुपनी गाउँपालिका– ४ का लाल मोहम्मद राइनलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
सो चोरी काण्डमा राइन गणेश स्टोर पसलभित्र प्रवेश गरी चोरी गर्ने सनियालाई बाहिर बसेर मानिस आवतजावतको सूचना दिन सहयोग गरेको आरोपमा पक्राउ गरिएको हो । सनियाकी दिदी ज्योतिले चोरीका सामान र रकम केही आफ्नो डेरामा र केही राजविराज–२ स्थित आफ्नो मदिरा पसलमा लुकाएर राखेकी थिइन् । उनकै पसलमा काम गर्ने समिमले चोरीको रकम कपडामा बेरी खाल्डो खनी माटोमा गाडेर लुकाएका थिए ।
प्रहरीले आरोपितलाई पक्राउ गरेसँगै उनीहरुको घर र पसलबाट ५० हजारको रिचार्ज कार्ड र रु तीन लाख ६० हजार नगदसमेत बरामद गरेको जनाएको छ । सोमबार बिहान सनियाले गणेश स्टोर अगाडि रहेको सोलारको पोलबाट घरमाथि चढेर भुई तल्लामा रहेको पसलमा प्रवेश गरी ४ लाख नगद र साढे एक लाख मूल्य बराबरको मोबाइल रिचार्ज कार्ड चोरी गरेका थिए । चोरीको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले तत्कालै अनुसन्धान तीव्र बनाएकाले छिट्टै सफलता हात लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए ।